काठमाडौं। भारतीय विद्युतीय सवारीसाधन बजारमा चर्चा र सफलता हासिल गरेको Sierra.ev अब नेपाली बजारमा प्रवेश गरेको छ। टाटा मोटर्सको यो बहुप्रतीक्षित विद्युतीय एसयूभीलाई आगामी नाडा अटो शो २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ।
काठमाडौंमा भदौ १० देखि १५ गतेसम्म आयोजना हुने नाडा अटो शोमा Sierra.ev लाई नेपाली उपभोक्तामाझ पहिलोपटक आधिकारिक रूपमा प्रस्तुत गर्न लागिएको हो। नेपालमा सार्वजनिक हुनुअघि नै यो मोडलप्रति अटोमोबाइल तथा विद्युतीय सवारीसाधनका पारखीको चासो बढेको कम्पनीले जनाएको छ।
Sierra.ev लाई आधुनिक प्रविधि, प्रिमियम सुविधासहितको इन्टेरियर, आकर्षक डिजाइन र दमदार ड्राइभिङ क्षमतामा केन्द्रित गरी विकास गरिएको छ। भारतीय बजारमा बिक्री तथा बुकिङका कारण चर्चामा आएको यो मोडलले नेपाली विद्युतीय सवारीसाधन बजारमा पनि नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।
नेपाली सडकको अवस्था र उपभोक्ताको बदलिँदो आवश्यकता लक्षित गर्दै Sierra.ev नेपाल भित्र्याइएको कम्पनीको भनाइ छ। बलियो रोड प्रेजेन्स, उच्च ब्याट्री क्षमता, आधुनिक सुरक्षा प्रविधि र आरामदायी ड्राइभिङ अनुभव यसका प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
विशेषगरी विद्युतीय एसयूभीको बजार विस्तार भइरहेको समयमा Sierra.ev को आगमनलाई नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण प्रवेशका रूपमा हेरिएको छ। नयाँ पुस्ताका चालकलाई लक्षित यसको फ्युचरिस्टिक डिजाइन र प्रविधिमैत्री विशेषताले नेपाली बजारमा आकर्षण बढाउने अपेक्षा गरिएको छ।
नाडा अटो शोमा Sierra.ev को सार्वजनिक प्रदर्शनसँगै नेपाली ग्राहकले यसको डिजाइन, प्रविधि, फिचर्स र ड्राइभिङसँग सम्बन्धित विशेषताबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। गाडीको औपचारिक सार्वजनिकसँगै यसको मूल्य, भेरियन्ट र नेपालमा उपलब्ध हुने अन्य विवरणसमेत सार्वजनिक हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया