–डा. अबुल हुसेन अन्सारी
पहेँलो रंग खुसी, आशा, ऊर्जा, ज्ञान, बुद्धि र समृद्धिको प्रतीक हो । नेपालका लागि पहेँला धान र गहुँका बाला लहरिने मधेश प्रदेश पनि खुसी, आशा, ऊर्जा, ज्ञान, बुद्धि र समृद्धिको प्रतीक नै हो । तर, विभिन्न बहानामा बेला–बखत मधेशलाई असान्त पार्ने खेल वर्षौंदेखि हुँदै आएको छ । शान्त मधेशका जनतालाई विग्रहित र खण्डित बनाउन अशान्तिका बाछिटा फ्याक्ने काम भइरहनु दुःखद् हो । यसको पछिल्लो उदाहरण केहीदिन पहिले सुनसरीको देवानगञ्जबाट सुरु भएको साम्प्रदायिक घटनालाई लिन सकिन्छ ।
देवानगञ्ज गाउँपालिका सुनसरीको सबैभन्दा दक्षिणमा पर्छ । पालिकाको दक्षिणमा भारतको फुलकाहा बजार पुग्न जम्मा दुई किलोमिटर छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार देवानगञ्जमा ३९ हजार ३ सय ६७ जनसंख्या मेहता (कुशवाहा) जातिको उल्लेख्य जनसंख्या रहेको छ । यहाँ यादव, मुसलमान, गडेरी, मुसहर, उराँव, धानुक, मलाह, वाँतर, भगत र कलबार, तत्मा, पासवान, सुडी, थारु, तेली, नेवारलगायत करिब ४५ जातजातीको बसोबास छ । १० वटा भाषा बोलिने यो पालिकामा मुख्य रूपमा हिन्दु र त्यसपछि इस्लाम धर्मावलम्बीहरूको बाहुल्य छ ।
समग्रमा हेर्दा यो पालिका विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृति भएका मानिसहरूको बसोबास रहेको सुन्दर फूलबारी हो । जुन फूलबारीमा आफ्नै अस्तित्व बाकेका सामाजिक र धार्मिक मूल्य, मान्यताहरू महकता छरिरहेका हुन्छन् । तर, यही पालिकामा जे घटना घट्यो, त्यसले सिंगो देशलाई स्तब्ध बनाइ दियो । देवानगञ्ज–३ को कप्तानगञ्जस्थित शिव मन्दिर आसपास घटनाको सुरुवात भएको हो । कप्तानगञ्ज भारतीय सीमाबाट डेढ किलोमिटर मात्रै दूरीमा छ । कप्तानगञ्जमा बेला बखतमा धार्मिक तथा सांस्कृतिक मेला भइरहेका हुन्छन् । तराईमा हिन्दु धर्मावलम्बीले बोलबमलाई साउन महिनाभर भगवान् शिवप्रति आस्था व्यक्त गर्दै मनाउँछन् । उनीहरूले सप्तकोशीको जल ल्याएर शिव मन्दिरमा चढाउने गर्छन् ।
अर्को दिन सोमबार भएकाले आइतबार साँझ सप्तकोशीको जल लिन एउटा समूह यात्रामा निस्कने तयारीमा थियो । त्यहाँ ठूलो आवाजमा डिजे बनाइएको थियो । साउनको चर्को गर्मीमा बत्ति गएको थियो । अर्को पक्षका केही युवा घरबाहिर निस्केका थिए । सुत्ने बेला आफूहरूको घरटोलतिर माइक फर्काएर नियतवश डिस्टर्ब गर्न खोजेको भन्दै उनीहरूले डिजे माइक साउन्ड बन्द गर्न आग्रह गरे । सामान्य विवादले त्यहाँ खटिएका प्रहरीकै अगाडि उग्र रुप लियो । दुई समूहबीच हानाहानको स्थिति सिर्जना भयो । प्रहरीको सक्रियतामा डिजे साउन्ड बन्द गर्न लगाउने समूह फर्कियो । तर, डिजे बजाउने टोली आक्रोशित बन्यो । उनीहरू र प्रहरीबीच नै झडपको अवस्था सिर्जना भयो । प्रहरी हवाइ फाएरकै अवस्थामा पुग्यो । एकैछिन अगाडि उत्सवमय बनेको देवानगञ्ज एकैछिनमा रणमैदानमा परिणत भयो ।
अवस्था भयावह बनेपछि सरकारले स्थिति नियन्त्रण लिन तत्काल प्रयास गर्नुपर्ने थियो । त्यो पनि सकेन । मधेशमा साम्प्रदायिक द्वन्द्व पहिलोपटक भने भएको होइन, यसअघि पनि थुप्रै पटक यस्तै प्रकृतिका घटना घटेका छन् ।
अवस्था भयावह बनेपछि सरकारले स्थिति नियन्त्रण लिन तत्काल प्रयास गर्नुपर्ने थियो । त्यो पनि सकेन । मधेशमा साम्प्रदायिक द्वन्द्व पहिलोपटक भने भएको होइन, यसअघि पनि थुप्रै पटक यस्तै प्रकृतिका घटना घटेका छन् । तर, सरकार मधेशका विषयमा कहिले गम्भीर देखिँदैन । यतिबेला त देशको प्रधानमन्त्री पनि मधेशले नै जन्माएको पुत्र छन् । तर, उनीमा पनि गम्भीरता देखिएन । द्वन्द्व निकैअघि बढेपछि मात्र सरकार गम्भीर बन्यो । यसअघि रौतहटको ‘गाई काण्ड’ नामले परिचित घटना वि.सं. २०२७/२८ पञ्चायती व्यवस्थाको समयमा भएको थियो । रौतहट जिल्लामा मुसलमान समुदायले गाई काटेको हल्ला फैलिाएसँगै उक्त घटना घटेको थियो । त्यो घटना ‘गाई काण्ड’ले परिचित छ ।
त्यसपछि वि.सं. २०६३ पुस १० र ११ गते नेपालगञ्जमा दंगा भयो । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)ले अन्तरिम संविधानको विरोधमा तराई बन्द गर्यो । बन्द क्रममा सवारी साधन तोडफोड भएपछि स्थानीय रूपमा पहाडी र मधेसी समुदायबीच तनाव बढ्यो । उक्त घटना यति उग्र बन्योकि एक युवकले ज्यान गुमाउनुका साथै २६ जना घाइते भए । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्यो । पछि आक्रमणको मुख्य निशानामा मुस्लिम समुदायका बजार, पसल र मस्जिदहरू परे । वि.सं. २०६४ भदौ ३० देखि असोज ४ गतेसम्म कपिलवस्तुको चन्द्रौटामा ठूलो साम्प्रदायिक हिंसा सिर्जना भयो । स्थानीय मुस्लिम नेता मोहित खानको हत्यापछि त्यहाँ द्वन्द्व सिर्जना भएको थियो । भदौ ३० गते बालपुरमा अज्ञात बन्दुकधारी समूहले उनको गोली हानी हत्या गरिदियो । खानका समर्थकले उनको हत्यको आक्रोशमा पर्वते समुदायको सम्पत्तिमाथि आक्रमण गरेका थिए । उक्त हिंसा साम्प्रदायिक द्वन्द्वमा परिणत हुँदा १४ जनाले ज्यान गुमाए ।
मानवीयताको खोजी र धार्मिक सहिष्णुता
माथिका त केही प्रतिनिधि उदाहरण मात्र हुन् । यसरी साम्प्रदायिक हिंसा नेपालमा थुप्रै पटक घटेको छ । यस्तो हुनुको एउटै कारण हो– मानवीय चेतनाको अभाव । नेपाल र नेपाली समाजले सधैँ गर्व गर्ने विषय धार्मिक तथा सांस्कृतिक विविधता तथा आपसी सहिष्णुता हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू शताब्दीऔंदेखि हातेमालो गर्दै एकै आँगनमा बस्दै आएका छन् । तर, पछिल्लो समय घटेका घटनाले हाम्रो गौरवशाली सामाजिक सद्भावमा आँच पुर्याउने प्रयत्न गरिरहेका छन् ।
त्यसैले देवानगञ्ज घटनालाई जोडेर दुई समुदाय वा धर्मबीच द्वन्द्वको बीउ रोप्नु वा यसलाई साम्प्रदायिक रंग दिनु हुँदैन । यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रतिवद्धता व्यक्त गर्नु पर्दछ । यस्ता हिंसामा जसले ज्यान गुमाए पनि नेपाली दाजुभाइकै ज्यान जाने हो । जसको कोख रित्तिए पनि नेपाली आमाकै कोख रित्तिने हो । यस्ता घटनाहरूले कुनै पनि समस्याको समाधान गर्दैनन्, उल्टै समाजमा अनावश्यक तिक्तता, डर र अविश्वास मात्रै फैलाउँछन् ।
अर्को कुरा कुनै पनि समाजमा धर्म वा जातको नाममा हुने हिंसा वा विवादहरू स्वतः उत्पन्न हुँदैनन् । यसका पछाडि हाम्रो चेतनाको कमी, संकुचित सोच र स्वार्थी तत्वको उक्साहट मुख्य रूपमा जिम्मेवार हुन्छ ।
अर्को कुरा कुनै पनि समाजमा धर्म वा जातको नाममा हुने हिंसा वा विवादहरू स्वतः उत्पन्न हुँदैनन् । यसका पछाडि हाम्रो चेतनाको कमी, संकुचित सोच र स्वार्थी तत्वको उक्साहट मुख्य रूपमा जिम्मेवार हुन्छ । जब मानिसमा विवेक र चेतनाको दायरा साँघुरिन्छ, तब उसले सत्य र असत्य छुट्याउने क्षमता गुमाउँछ । इतिहास र शास्त्र साक्षी छन्– संसारको कुनै पनि धर्मले अर्को धर्मलाई हेला गर्न, घृणा गर्न वा हिंसा फैलाउन सिकाउँदैन । विश्वका सबै प्रमुख धर्महरूको मूल मन्त्र भनेको नै शान्ति, प्रेम, करुणा, मानव कल्याण र बन्धुत्व हो । तर, धर्मको वास्तविक मर्म बुझ्न नसक्दा वा यसलाई राजनीतिक तथा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दा यस्ता दुर्भाग्यपूर्ण घटनाहरू घट्ने गरेका छन् ।
प्रकृतिको नियमले हामी सबैलाई दुई हात, दुई खुट्टा, आँखा, नाक र एक सुन्दर मानव शरीर दिएको छ । तर, केवल शारीरिक रूप वा आकारप्रकारले मात्र कोही वास्तविक अर्थमा ‘मानिस’ बन्न सक्दैन । मानिस बन्नका लागि केवल बाहिरी स्वरुप पर्याप्त हुँदैन, भित्रि मनमा मानवीय चेतना, विवेक र अर्काको पीडा बुझ्ने संवेदना हुनु अनिवार्य छ । जुन दिन मानिसले आफ्नो स्वार्थका लागि अर्कोको ज्यान लिन वा घृणा फैलाउन तयार हुन्छ, त्यो दिन उसको मानवता मरिसकेको हुन्छ । ढुंगे युगको क्रूरताबाट यहाँसम्म आइपुग्दा हामीले विज्ञान र प्रविधिमा फड्को मारे पनि चेतनाको स्तरमा अझै परिपक्व बन्न बाँकी नै छ भन्ने कुरा यस्ता घटनाहरूले सम्झाउँछन् ।
हामी जुन शरीरमा बाँचिरहेका छौँ, त्यो माटो, हावा, पानी र पञ्चतत्वबाट बनेको छ । जात, धर्म, लिङ्ग, वर्ण वा भूगोल जस्तोसुकै भए पनि सबै मानिसको शरीरमा बग्ने रगतको रङ रातो नै हुन्छ । जन्म र मृत्युको शाश्वत सत्य सबैका लागि समान छ । कसैको पनि जन्म कुनै विशेष रङको रगत लिएर भएको हुँदैन । यदि चोट लाग्दा सबैको रगत रातो नै बग्छ भने, दुस्मन वा आफ्ना भनेर गरिने विभेदको आधार के हो ? धर्म र जातको पर्खाल मानिस आफैँले बनाएका कृत्रिम घेराहरू हुन्, जसलाई प्रेम र सद्भावको शक्तिले सजिलै भत्काउन सकिन्छ । त्यसैले आजको आवश्यकता भनेको कुनै पनि घटनामा उत्तेजित हुनु होइन, गहिरिएर सोच्नु र विवेक पुर्याउनु हो । कसैको बहकाव वा आवेगमा आएर आफ्नो छिमेकीसँगको सम्बन्ध बिगार, समाजमा आगो बाल्नु बुद्धिमत्ता होइन । त्यसैले, वाद र विवादभन्दा माथि उठेर हामीले सोच्ने बेला आएको छ– पहिला हामी असल मान्छे बन्न सिकौँ । अर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्न जानौँ । कुनै पनि समस्याको समाधान हिंसा वा प्रतिशोधबाट होइन, आपसी संवाद, कानुनको पालना र संयमताबाट मात्र सम्भव छ । देवानगञ्ज घटनाबाट पाठ सिकेर हामी सबैले आपसी सद्भाव, मेलमिलाप र भाइचाराको सन्देश फैलाउनुपर्छ । हाम्रो सुन्दर र विविधतायुक्त समाजलाई जोगाउने दायित्व हामी प्रत्येक नागरिकको हो ।
सरकारको चरम दमन र कमजोरी
तर, कर्फ्यूमा पनि नेपाली सेना परिचालन भयो र कर्फ्यू हुँदाहुँदै पनि नेपाल प्रहरी, एपीएफ तथा सेनाको आँखा अगाडि त्यत्रो निर्दाेष नेपाली मुस्लिमको घर, धार्मिक स्थलमाथि आगजनी, तोडफोड भयो । निर्दाेष व्यक्तिहरूलाई कुटपिट गरियो । त्यहीँ दिन हामीले बुझिसकेका थियौँ, यो सरकार, नियम कानुनले होइन, मास र पपुलेसनको हिसाबले चलिरहेको छ । जबसम्म सरकार कानुन नियमभन्दा बढी जनदबाबमा काम गर्छ तबसम्म अल्पसंख्यक, निमुखा तथा पछि परेका वर्ग सधैँ दविएर वा शोषित भएर बस्नुपर्ने बाध्यता रहन्छ । कानुनको पालना गर्दै यो समस्याको हल गर्ने प्रमुख दायित्व सरकारको नै हो ।
सुनसरी र सिरहामा भएको उक्त हिंसात्मक घटनाको वास्तविक अवस्था अध्ययन गर्न गठित छुट्टाछुट्टै छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गरेका छन् । छानबिन समितिको अध्ययनले सुरक्षाकर्मीको गोली लागेर नै मृत्यु भएको निष्कर्ष निकालेको छ । सामान्य घटनालाई समाम्य पार्नु पर्नेमा निर्दोष जनताको छातिमा ताकीताकी राज्यबाटै गोली चलाएको घटनाको जिम्मा राज्यले नै लिने कि कसले लिने ? हाम्रो मनमा यो अहम प्रश्न बनेर बसेको छ । वर्षौंदेखि देवानगञ्जमा कुनै ठूलो विवादबिना हिन्दू–मुस्लिम समुदाय मिलेर बस्दै आएको थियो । तर, सामान्य विवादमा अचानक चलेको सरकारको गोलीले हिन्दू–मुस्लिमबीच तनाव र झडपको अवस्था सिर्जना गरिदिएको हो । यो सत्यलाई नकार्न मिल्दैन ।
यही मौकामा राजनीतिक स्वार्थका लागि धमिलो पानीमा माछामार्न खोज्ने तत्व सक्रिय भए । उनीहरूले सामाजिक सद्भावलाई थप विगार्ने र धमिल्याउने काम गरे । बाहिरबाट गोली चलाएको आरोपसम्म लाग्यो । तर, सरकारी छानबिन समितिले नै दूधको दूध र पानीको पानी छुट्याइ दिएको छ । धर्मको नाममा आम नागरिकलाई एक–अर्काविरुद्ध उभ्याएर राजनीतिक रोटी सेक्ने प्रवृत्तिले अन्ततः क्षति जनताकै हुन्छ । दोषी जोसुकै होस्, निष्पक्ष छानबिन, सत्यतथ्यको सार्वजनिकरण र दोषीमाथि कानुनी कारबाही हुनुपर्छ । यो हाम्रो राज्यसामू जोडदार माग पनि हो । हामीले वर्षौंदेखि जोगाउँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव कुनै पनि राजनीतिक स्वार्थका कारण टुट्नु हुँदैन । यसमा सबैलाई सचेत हुन पनि म आग्रह गर्दछु ।
दंगाको नाम नदिउ
हामीले यस्ता घटनालाई दंगा भन्नु हुँदैन । साम्प्रदायीक द्वन्द्व भन्नुपर्छ । यसलाई केही तत्वले दंगाको रुप दिन खोजेका थिए । तर, उनीहरू विफल भए । देवानगञ्जको घटनालाई हेर्दा पूरा भारतको प्रभाव परेको मेरो बुझाई छ । भारतीय प्रभाव परे पनि त्यहाँको सरकारको प्रभाव भने होइन । यस घटनलाई सरकारी करण गर्नु हुँदैन । केही मानिसले आफ्नो व्यक्तिगत फाइदाका लागि यो घटना घटाएका हुन् । मुस्लिम त अल्पसंख्यक छ । यस्तो समुदायलाई कहिले पनि अपहेलित गर्नु हुँदैन । सानो संख्यामा रहेको उक्त समूदायलाई अपेहेलित गरेर कसैलाई पनि फाइदा हुँदैन ।
नेपालमा ५.६ प्रतिशत मुस्लिम समुदायको जनसंख्या छ । जनासुकै प्रतिनिधित्व गर्दा पनि त्यो समूदायको सहभागिता ५.६ नै हुने हो । त्यसैले मुसलमान कहिले नेपालको हिन्दु राज्यको पक्षमा पनि थिएनन्, विपक्षमा पनि थिएनन् । आज पनि छैनन्, भोलि पनि हुँदैनन् ।
नेपालमा ५.६ प्रतिशत मुस्लिम समुदायको जनसंख्या छ । जनासुकै प्रतिनिधित्व गर्दा पनि त्यो समूदायको सहभागिता ५.६ नै हुने हो । त्यसैले मुसलमान कहिले नेपालको हिन्दु राज्यको पक्षमा पनि थिएनन्, विपक्षमा पनि थिएनन् । आज पनि छैनन्, भोलि पनि हुँदैनन् । तर, आफ्नो अधिकार संविधान र राज्यमा स्थापित गर्न संघर्ष गर्नै पर्ने थियो । अधिकार प्राप्तिका लागि राज्यमा संघर्ष गरियो । तर, साम्प्रदायिक हिंसा सिर्जना गर्न मुस्लिम कहिले चाहँदैनन् । अहिले सरकार पनि पूरा फेल भएको जस्तो देखिन्छ । उनीहरू पनि यस्ता घटनालाई बढावा दिएर आफ्ना कमजोरी लुकाउन खोजिरहेका छन् । हाम्रो समुदायले घटनाको सत्यतथ्य छानबिन गरेर दोषिमाथि कडाभन्दा कडा कारबाही होस् भन्ने माग रहेको छ ।
देवानगञ्ज घटनालाई शान्त पार्नु पर्नेमा प्रहरीले गोली चलाउनु र त्यहाँबाट निर्वाचित सांसद् लालविक्रम थापाले प्रहरीले गोली चलाएको हो भन्नुले पनि त्यस कुराको पुष्टि गर्दछ । सिडिओको सेना परिचालनको आदेशसहितको विज्ञप्ति आउनुले पनि सरकार चरम दमनमा केन्द्रित भएको पुष्टि हुन्छ । म थोरै मद्रसा शिक्षाको चर्चा गर्न चाहन्छु, मदरसा शिक्षा अंग्रेजहरूले चलाएका हुन् । त्यतिबेला भारतको राजधानी दिल्लीमा पनि राजधानी थिएन । कलकत्तामा राजधानी थियो । त्यहीबाट मदरसा शिक्षा प्रारम्भ भएको हो । त्यहाँको मदरसा विश्वविद्यालय भइसक्यो । त्यहाँको मदरासामा बढेका राजेन्द्र प्रदाप भारतको पहिलो राष्ट्रपति बने । अब्दुल कलाम आजातले पनि त्यहीबाट अध्ययन गरेका हुन् ।
मदरासामा गलत कुरा पढाइ हुँदैन । नेपाली, अंग्रेजी, गणित, विज्ञान नै पढाइ हुने हो । ऐक्षिकमा उर्दू र अरबी भाषा थपिएको हुन्छ । यो भाषा त सबै स्कुलमा लागू गर्दा पनि राम्रो हुन्छ । नेपालका कामदार खाडी मुलुकमा छन् । ती मानिसलाई भाषाको समस्या छ । नेपालबाटै त्यो शिक्षा लिएर जाँदा सहज रुपमा काम गर्ने वातावरण हुन्छ र राम्रो कमाइ गर्न सकिन्छ । त्यसैले सरकारले जसरी गुरुकुल शिक्षा, संस्कृत, गुम्बालाई जोगाएर राखेको छ, त्यसरी नै मदरसा शिक्षालाई पनि जोगाउनुपर्छ ।
हामीले मस्जिदहरू आफैँले चन्दा दिएर निर्माण गरेका छौँ । हामीले सरकारलाई कर तिरिरहेका छौँ । राज्यमा बसेर गलत काम गरेका छैनौँ । त्यसैले सरकारले हामीमाथि विभेद गर्नु हुँदैन । राज्यबाटै विभेद् हुँदा नै साम्प्रदायिक हिंसाको अवस्था सिर्जना हुने हो । यतिबेला मस्जिद जलेको संसारले हेरिरहेको छ । यस्तो अवस्थामा खाडी मुलुकमा नेपालीले रोजगारी गुमाउने जोखिम रहन्छ । देश विभिन्न चुनौती पार गर्दै संघीयता र धर्म निरपेक्षताको अवस्थामा पुगेको छ । यसको संस्थागत विकास गर्दै मुलुकमा समृद्धि हासिल गर्नु आजको आवश्यकता हो । त्यसैले कोही पनि विभक्त नभईकन एकतावद्ध भएर नयाँ नेपाल निर्माणमा जुटौँ ।
(लेखक नेकपा (एमाले)का नेता तथा समाजसेवी हुन् ।)











प्रतिक्रिया