२८ आश्विन २०८३, बुधबार

पदमुक्त गरिएका युक्रेनी रक्षामन्त्रीले भने– तत्काल राष्ट्रपति निर्वाचन गरौँ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ । युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकै बीचमा निर्वाचन गराउनु पर्ने माग गरेका छन् ।

फेब्रुअरी २०२२ मा रुससँग युद्ध सुरु भएयता भोलोडिमिर जेलेन्स्कीको राष्ट्रपतीय कार्यकालका लागि यसलाई धेरैले सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरेका छन् ।

३५ वर्षीय फेडोरोभले मंगलबार युट्युबमा पोस्ट गरिएको भिडियोमा भने, ‘लोकतन्त्र रुसको बन्धक बन्न सक्दैन, हामी एक स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहिरहन चाहन्छौँ ।’ उनका अनुसार सोही उद्देश्य अनुसार संघर्ष गरिरहेको छ ।

रुसको आक्रमणयता युक्रेनमा सैनिक शासन छ, जसको अर्थ निर्वाचनहरू स्थगित गरिएका छन् । भिडियोमा जेलेन्स्कीको नाम नलिएका फेडोरोभलाई रक्षामन्त्रीमा नियुक्त भएको ६ महिनापछि अर्थात् जुलाईको अन्त्यतिर अप्रत्याशित रूपमा पदबाट हटाइएको थियो ।

फेडोरोभको भिडियोमाथि जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फेडोरोभलाई पदबाट हटाउने निर्णयले देशभर विरोध प्रदर्शनहरू निम्त्याएको थियो ।

रक्षामन्त्रीको कार्यकालमा फेडोरोभले मन्त्रालयमा नयाँ ऊर्जा भर्ने, भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गर्ने तथा रणभूमिको कार्यसम्पादन विश्लेषण र सुधार गर्न तथ्यांकको प्रयोग गर्ने काम गरेको श्रेय पाएका थिए ।

उनलाई पदबाट हटाउने निर्णय सेनाका कमान्डर इन चिफ ओलेक्सान्डर सिर्स्कीसँगको तनावसँग सम्बन्धित रहेको व्यापक रूपमा मानिन्छ । युक्रेनी राष्ट्रपतिमाथि हप्तौँसम्म चलेको विरोध प्रदर्शनको दबाब बढेपछि केही सातामै सिर्स्कीलाई पनि पदबाट हटाइएको थियो ।

युट्युब भिडियोमा फेडोरोभले आफ्ना राजनीतिक योजनाबारे कुनै संकेत गरेका छैनन् । बरु उनले ‘दीर्घकालीन युद्धको अवस्थामा पनि युक्रेनलाई पूर्ण लोकतान्त्रिक प्रक्रिया पुनःस्थापना गर्न सक्षम बनाउने कानुनी, सुरक्षित र यथार्थपरक संयन्त्र’को आवश्यकतामा जोड दिए ।