वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको वर्तमान कार्यकालकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।
रोयटर्स र इप्सोसको एक सर्वेक्षणले ३३ प्रतिशत मानिसले ट्रम्पको कार्यसम्पादनलाई समर्थन गरेको देखाएको छ भने ६४ प्रतिशतले असहमति जनाएका छन् । यसै महिनाको सुरुमा ट्रम्पको समर्थन दर ३५ प्रतिशत थियो ।
सर्वेक्षणमा ८० प्रतिशत अमेरिकीहरूले इरानमा अमेरिकी सैन्य संलग्नता लम्बिन सक्ने बताए भने १६ प्रतिशतले मात्र यो द्वन्द्व केही हप्ता भित्रै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
केवल २० प्रतिशत अमेरिकीहरूले मात्र इरानविरुद्धको युद्धलाई सही निर्णय मान्छन् । नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि इरान युद्ध र बढ्दो इन्धनको मूल्यलाई लिएर ट्रम्प र रिपब्लिकन पार्टीप्रति चिन्ता बढेको छ ।
आर्थिक व्यवस्थापनका सन्दर्भमा ३८ प्रतिशत उत्तरदाताले डेमोक्रेटहरूप्रति विश्वास व्यक्त गरे भने ३५ प्रतिशतले रिपब्लिकन पार्टीमाथि भरोसा देखाएका छन् ।
ट्रम्पले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने र दीर्घकालीन युद्धहरूबाट टाढा रहने बाचासहित चुनावी अभियान सञ्चालन गरेका थिए । सुरुमा उनले इरानसँगको तनाव केही हप्ता भित्रै अन्त्य हुने बताएका थिए । यद्यपि, इरानले दृढता प्रदर्शन गरेको छ । तनावमा केही कमी आए पनि उसले ‘स्ट्रेट अफ हर्मुज’हुँदै हुने तेलको व्यापारलाई धेरै हदसम्म ठप्प पारेको छ ।
रोयटर्स र इप्सोसको एक अनलाइन सर्वेक्षणले संयुक्त राज्य अमेरिकाभरका १,१६६ वयस्कहरूलाई समेटेको थियो र यसमा त्रुटिको दायरा ३ प्रतिशत विन्दु थियो ।
स्मरण रहोस्, डोनाल्ड ट्रम्पले तेहरानमाथि दबाब दिने क्रम जारी राखेका छन् । उनी इरानबाट विभिन्न छुट वा सहुलियत प्राप्त गर्ने अडानमा कायमै छन् ।
१४ अगस्टमा उनले होर्मुज जलसन्धिलाई चाँडै नै अमेरिकी भू–भाग घोषणा गर्ने बताए, यो कदम उनले इरानलाई पराजित गरेपछि चाल्ने छन् । साथै, उनले कुनै सम्झौता नभएमा सैन्य कारबाही गरिने चेतावनी पनि दिइरहेका छन् ।













प्रतिक्रिया