हेटौँडा । हेटौँडा–१९ स्थित बासुदेव खोलामा आएको अचानक बाढीले चार विद्यार्थीलाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक विद्यार्थी भने सकुशल उद्धार भएका छन्।
विद्यालयबाट घर फर्किने क्रममा निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरू खोला पार गर्न खोज्दा बाढीमा परेका हुन्। घटनामा करिब ८ वर्षीया रोसनी स्याङ्ताङको शव घटनास्थलबाट करिब ५०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन रहेका छन्। उनीहरूको खोजीका लागि प्रहरीसहित स्थानीयवासी परिचालन भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उद्धार गरिएका एक विद्यार्थीलाई उपचारका लागि अस्पताल पठाइएको छ। खोलामा आएको बाढीका कारण घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।















प्रतिक्रिया