काठमाडौं । शिवम् सिमेन्टमा आबद्ध नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।
अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा आयुषले २०० मिटर दूरी २१.८७ सेकेन्डमा पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका हुन्। यससँगै उक्त राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराउन उनी सफल भएका थिए।
यसअघि पनि आयुषले छोटो दूरीको दौडमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले सन् २००१ मा रामकृष्ण चौधरीले कायम गरेको ६० मिटर दौडको ७.०९ सेकेन्डको कीर्तिमान तोड्दै ७.०२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए। उक्त कीर्तिमान विश्व एथलेटिक्सको वेबसाइटमा समेत अभिलेख गरिएको छ।
आयुषले त्यसपछि पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। अगस्ट ९, २०२६ मा लन्डनमा सम्पन्न २०० मिटर दौडमा उनले आफ्नै नाममा रहेको २१.८७ सेकेन्डको कीर्तिमान सुधार गर्दै २१.६६ सेकेन्डमा दौड पूरा गरेका छन्। यससँगै उनले आफ्नै राष्ट्रिय कीर्तिमान आफैं तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
नेपाली खेलकुद, विशेषगरी एथलेटिक्समा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने अवसर सीमित रहेको अवस्थामा आयुषको यो उपलब्धिलाई महत्वपूर्ण मानिएको छ। उनका अनुसार खेलाडीले पर्याप्त अवसर नपाउँदा ३० वर्ष पुरानो कीर्तिमान लामो समयसम्म कायम रहन पुगेको हो।
राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य आयुषले सन् २०२३ देखि नै राखेका थिए। त्यसका लागि उनले उपलब्ध अवसरमा मात्र निर्भर नभई आफैं अन्तर्राष्ट्रिय प्रतियोगिता खोज्दै विश्व एथलेटिक्सबाट मान्यता प्राप्त प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। विश्व एथलेटिक्स एथलेटिक्स खेलको विश्वव्यापी नियमनकारी संस्था हो। यसले अन्तर्राष्ट्रिय प्रतियोगिताका नियम, मापदण्ड तथा कीर्तिमानलाई आधिकारिक मान्यता दिने भएकाले यस संस्थाबाट स्वीकृत प्रतियोगितामा कायम भएका कीर्तिमानको अन्तर्राष्ट्रिय वैधता महत्वपूर्ण हुन्छ।
आयुषको यो सफलता अझ विशेष बन्नुको अर्को कारण उनको चोटपछिको पुनरागमन हो। सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङ चोटका कारण उनी प्रतियोगिताबाट बाहिरिन बाध्य भएका थिए। चोट, सीमित स्रोतसाधन तथा विभिन्न संस्थागत चुनौतीका बाबजुद उनले प्रशिक्षणलाई निरन्तरता दिए। त्यसको एक वर्षपछि नै ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न उनी सफल भएका हुन्।
हाल अमेरिकामा प्रशिक्षण गरिरहेका आयुषले आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेल जीवनका अधिकांश पक्ष आफैं व्यवस्थापन गर्दै आएका छन्। पूर्णकालीन जागिरसँगै प्रशिक्षण र चोटपटकसमेत व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नु उनका लागि चुनौतीपूर्ण रहेको छ।
नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले शिवम् सिमेन्टले आयुषलाई सन् २०२३ देखि अनुबन्ध गर्दै आएको छ। कम्पनीले उनलाई आवश्यकताअनुसार हवाई टिकट, खेल पोसाक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
आफ्नो कीर्तिमानपछि प्रतिक्रिया दिँदै आयुषले ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल हुँदा गर्व महसुस भएको बताए। उनले भने, “तीन दशक पुरानो कीर्तिमान तोड्न सफल हुँदा अत्यन्त गर्व महसुस भएको छ। तर यो कीर्तिमान ३० वर्षसम्म कायम रहनुको कारण हाम्रा स्प्रिन्टरहरूले पर्याप्त अवसर नपाउनु पनि हो। कीर्तिमान भनेको तोड्नकै लागि हो।”
उनले आगामी दिनमा नयाँ पुस्ताका एथलेटहरूले अझ छिटो उक्त कीर्तिमान तोड्ने विश्वास व्यक्त गर्दै ‘स्प्रिन्ट प्रोजेक्ट’ नामक निजी परियोजना सञ्चालन गर्ने तयारी भइरहेको बताए। उक्त परियोजनामा शिवम् सिमेन्टको सहकार्यको अपेक्षा रहेको उनको भनाइ छ।
शिवम् सिमेन्टले आयुषको ऐतिहासिक उपलब्धिप्रति बधाई व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीको प्रोत्साहन तथा राष्ट्रिय गौरव अभिवृद्धिका लागि सहयोगलाई निरन्तरता दिने जनाएको छ।
कम्पनीले सन् २०२७ मा अमेरिकामा आयोजना हुने विश्व मास्टर्स इन्डोर च्याम्पियनसिपका लागि आयुषका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई समेत सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ।
आयुषको पछिल्लो उपलब्धिले उचित अवसर, दृढ इच्छाशक्ति र निरन्तर मेहनत पाए नेपाली खेलाडीले सीमित स्रोतसाधनका बाबजुद पनि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने सन्देश दिएको छ।













प्रतिक्रिया