काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा दिएको सम्बोधनमा ‘बौद्धिक नक्सल’ शब्द प्रयोग गरेपछि भारतमा त्यसलाई लिएर राजनीतिक तथा सामाजिक सञ्जालमा बहस चर्किएको छ । यहीबीच सामाजिक सञ्जालमा ‘बौद्धिक (दिमागी) नक्सल जनता पार्टी (डीएनजेपी इन्डिया)’ र ‘बौद्धिक नक्सल पार्टी (डीएनजेपी)’ लगायतका नाममा नयाँ खाताहरू देखा परेको छ ।
यीमध्ये केही खाताले छोटो समयमै उल्लेख्य संख्यामा फलोअर्स बटुलेको छ ।
विशेषगरी ‘दिमागी नक्सल पार्टी’ नामको इन्स्टाग्राम खाताले केही समयमै तीव्र रूपमा फलोअर्स बटुलेको हो । उक्त खातालाई हालसम्म १ लाख ९० हजारभन्दा बढीले फलो गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खाता हालै खोलिएको भए पनि त्यसमा धेरै पोस्ट सार्वजनिक गरिएका छन् । यद्यपि, उक्त प्रोफाइलमा खाता सञ्चालन गर्ने व्यक्ति, संस्था वा संगठनबारे स्पष्ट परिचय खुल्ने विवरण राखिएको छैन । त्यसैले यसको पछाडि को वा कुन समूह संलग्न छ भन्नेबारे आधिकारिक रूपमा सार्वजनिक भएको छैन ।
त्यस्तै, एक्स (ट्वीटर)मा ‘बौद्धिक (दिमागी) नक्सल जनता पार्टी (डीएनजेपी इन्डिया) नामको खाताले भने भारतको विपक्षी दलका नेताहरू राहुल गान्धी, अखिलेश यादव र अरविन्द केजरीवालसँगै चर्चित युट्युबर ध्रुव राठी, स्ट्यान्डअप कमेडियन कुणाल कामरा र वरिष्ठ अभिनेता प्रकाश राज लगायतका चर्चित अनुहारहरुलाई फलो गरेको देखिएको छ । यो खाता पनि हालै सञ्चालनमा आएको हो ।
उसले एक पोस्टमा भनेको छ– हामी भगत सिंहका अनुयायी हौँ । यदि उनीहरूले हाम्रा खाताहरू बन्द गर्ने वा हामीलाई ‘राष्ट्रविरोधी’को बिल्ला भिराउने प्रयास गरे भने यति बुझ्नुहोला– उनीहरूले भगत सिंहको अनादर गरिरहेका छन् ।
मोदीले के भनेका थिए ?
१५ अगस्टमा भारतको स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीस्थित लालकिल्लाको प्राचीरबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नक्सलवादबारे टिप्पणी गरेका थिए ।
उनले जंगलमा हतियार उठाएर हिंसात्मक गतिविधि गर्ने नक्सलवादी कमजोर हुँदै गए पनि ‘बौद्धिक नक्सल’हरूले वैचारिक रूपमा युवालाई भ्रमित पार्ने प्रयास गरिरहेको दाबी गरेका थिए । उनले त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह समेत गरेका थिए ।
मोदीले कुनै विशेष राजनीतिक दल वा संगठनको नाम नलिई वैचारिक रूपमा देशलाई गलत दिशातर्फ लैजान खोज्ने प्रवृत्तिविरुद्ध सतर्क हुनुपर्ने बताएका थिए ।
मोदीले भनेका थिए, ‘जंगलमा हतियार उठाएका नक्सलहरू समाप्त पारिए पनि बौद्धिक नक्सलहरू अझै मौकाको खोजीमा छन् । उनीहरू हिंसा भड्काउने उपाय खोजिरहेका छन् र देशलाई गलत बाटोमा लैजाने प्रयास गरिरहेका छन् । यस्ता व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई अलगथलग पार्नुपर्छ ।’













प्रतिक्रिया