काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी क्लासिक टेक प्रा.लिले पछिल्लो एक वर्षमा ग्राहक विस्तारमा उल्लेख्य छलाङ मारेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को पछिल्लो एमआईएस प्रतिवेदनअनुसार क्लासिक टेकले गत एक वर्षमा देशभरका प्रमुख इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको हो।
एनटीएको तथ्यांकअनुसार २०८२ सालदेखि २०८३ असारसम्मको अवधिमा क्लासिक टेकका ग्राहक संख्या ५६ प्रतिशतले बढेको छ। एक वर्षअघि १ लाख ८७ हजार १३७ रहेका ग्राहक बढेर असारसम्म २ लाख ९२ हजार ९२२ पुगेका हुन्।
यस अवधिमा क्लासिक टेकको वृद्धिदर अन्य प्रमुख आईएसपीको तुलनामा निकै अगाडि देखिएको छ। वाइफाइ नेपालको ग्राहक संख्या ४७ प्रतिशत, नेपाल टेलिकमको १९ प्रतिशत, भायानेटको १७ प्रतिशत, वर्ल्डलिंकको ७ प्रतिशत र डिसहोमको ३ प्रतिशतले बढेको एनटीए एमआईएस तथ्यांकमा उल्लेख छ। सुबिसुको ग्राहक संख्या भने १० प्रतिशतले घटेको देखिन्छ।
ग्राहक संख्याका आधारमा क्लासिक टेक अहिले नेपालकै पाँचौँ ठूलो इन्टरनेट सेवा प्रदायक बनेको छ। कम्पनीले कुल बजारको करिब ८।२० प्रतिशत हिस्सा ओगटेको जनाइएको हो।
कम्पनीका अनुसार शीर्ष तहमा रहेका आईएसपीमध्ये ग्राहक विस्तारको गतिका हिसाबले क्लासिक टेक सबैभन्दा अगाडि रहेको छ। पछिल्लो एक वर्षमा थपिएका ग्राहकको संख्याले कम्पनीप्रति उपभोक्ताको विश्वास बढ्दै गएको संकेत गरेको क्लासिक टेकको दाबी छ।
कम्पनीले पछिल्लो समय नेपाली इन्टरनेट बजारमा ग्राहकले केवल मूल्यमा नभई नेटवर्कको गुणस्तर, प्रविधि र सेवालाई समेत प्राथमिकतामा राख्न थालेको बताएको छ। क्लासिक टेकले आफ्नो ग्राहक आधार विस्तारको प्रमुख कारणका रूपमा पूर्वाधार तथा प्रविधिमा गरेको लगानीलाई अघि सारेको छ।
कम्पनीले आवासीय इन्टरनेट प्याकेजमा सुरुवाती तहदेखि नै वाइफाइ ६ राउटरलाई मानक सुविधाका रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ। साथै, देशभर आफ्नो फाइबर नेटवर्क विस्तारलाई निरन्तरता दिँदै आएको कम्पनीको भनाइ छ।
हाल क्लासिक टेकको नेटवर्क ७४ जिल्लासम्म विस्तार भएको कम्पनीले जनाएको छ। त्यस्तै, व्यावसायिक तथा कर्पोरेट ग्राहकका लागि कम्पनीले डाटा सेन्टर, डार्क फाइबर, एल-२/एल-३ सपोर्ट र चौबीसै घण्टा सञ्चालन हुने नेटवर्क अपरेसन सेन्टर (एनओसी) लगायतका सेवा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले तीव्र ग्राहक वृद्धि हासिल गर्न नेटवर्क तथा सेवा व्यवस्थापनको क्षमता पनि सोहीअनुसार विस्तार गर्नुपर्ने जनाएको छ। “यस्तो गतिमा वृद्धि हासिल गर्न पूर्वाधार र सहयोग क्षमतामा निरन्तर लगानी आवश्यक हुन्छ,” कम्पनीले भनेको छ।
ग्राहक संख्या बढ्दै जाँदा सेवा गुणस्तर कायम राख्ने, नेटवर्क क्षमता विस्तार गर्ने तथा नियामकीय मापदण्ड पालना गर्दै अघि बढ्ने आफ्नो प्राथमिकता रहेको क्लासिक टेकले जनाएको छ। सन् २००९ मा स्थापना भएको क्लासिक टेकले हाल फाइबर ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी र आईपीटीभीलगायतका सेवा सञ्चालन गर्दै आएको छ।
कम्पनीका अनुसार पछिल्लो ग्राहक विस्तारसँगै देशको इन्टरनेट बजारमा आफ्नो उपस्थिति थप बलियो बनेको छ। एनटीएको एमआईएस प्रतिवेदनमा आधारित पछिल्लो तथ्यांकले पनि क्लासिक टेकको ग्राहक वृद्धिदर प्रमुख आईएसपीहरूको तुलनामा उच्च रहेको देखाएको छ।













प्रतिक्रिया