काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले दुई दिनसम्म सञ्चालन गरेको राष्ट्रिय भेला पाँचवटा महत्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न गरेको छ। भेलाले पार्टीको आगामी १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलाप, धर्म–संस्कृति, संविधान संशोधन र सम्मेलनका निर्णयलाई अन्तिम रूप दिने विषय समेटिएका प्रस्ताव अनुमोदन गरेको हो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर यो समूहले आगामी १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निष्कर्ष निकालेको छ। भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन आयोजना गर्ने र त्यसअघि पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले समन्वय गर्ने निर्णय गरेको छ। राष्ट्रिय भेलाको संयोजक डा। शशांक कोइराला रहेका थिए।
कांग्रेसमा गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको भए पनि संस्थापन इतर समूहले त्यसलाई स्वीकार गरेको छैन। विशेष महाधिवेशनबाट भएको निर्णयविरुद्ध यो समूहले सर्वोच्च अदालतमा पुनरावेदनसमेत गरेको छ। सर्वोच्चले उक्त विषयमा पुनः सुनुवाइ गर्ने आदेश दिइसकेको छ। भेलाले मुलुकको वर्तमान परिस्थितिलाई चुनौतीपूर्ण भन्दै राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी तथा राष्ट्रिय शक्तिसँग संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ।
प्रस्तावमा २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकटका बेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति अघि सार्दै नेपाल फर्किएको प्रसंग स्मरण गरिएको छ। अहिले पनि देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकाल्दै राष्ट्रियता र लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन सक्रिय रहने प्रतिबद्धता जनाइएको छ। भेलाले नेपालको परम्परागत धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने प्रस्ताव पनि पारित गरेको छ।
नेपालमा लामो समयदेखि कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको संरक्षण गर्दै सनातन धर्मसँग जोडिएका परम्परा तथा संस्कृति संरक्षण गर्ने प्रतिबद्धता प्रस्तावमा व्यक्त गरिएको छ।
हिन्दु, बौद्ध, किरात तथा प्रकृतिपूजक परम्पराको संरक्षणलाई समेत प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ। राष्ट्रिय भेलाले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न सकिने विषयमा समेत सहमति जनाएको छ।
संविधानमा संशोधन आवश्यक देखिएका विषयलाई संवैधानिक प्रक्रियाअनुसार अघि बढाउँदै सम्बन्धित सबै पक्षसँग संवाद गरेर निकास खोज्ने प्रस्ताव पारित गरिएको छ। भेलामा प्रस्तुत भएका विभिन्न प्रस्ताव, सुझाव तथा छलफलका निष्कर्षलाई समेटेर पारित प्रस्तावलाई अन्तिम लिखित दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारीसमेत तोकिएको छ।
यसका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सीता राना सदस्य रहने समिति बनाइएको छ। सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहनेछन्।
यसरी संस्थापन इतर समूहको भेलाले आगामी महाधिवेशनमा देउवाको नेतृत्वलाई निरन्तरता दिने स्पष्ट राजनीतिक सन्देश दिनुका साथै कांग्रेसको भावी राजनीतिक दिशा, धर्म–संस्कृति, संविधान संशोधन र राष्ट्रिय एकताका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।













प्रतिक्रिया