काठमाडौं । पश्चिम बंगालका पूर्वउपसभामुख आशिष बनर्जीको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
आइतबार बिहान वीरभूम जिल्लास्थित आफ्नो निवास नजिकै रहेको टीएमसी पार्टी कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् २००१ देखि २०२६ सम्म रामपुरहाटबाट पाँच पटक विधायक निर्वाचित भएका ७५ वर्षीय टीएमसी नेता बनर्जी हालैको विधानसभा निर्वाचनमा भाजपा उम्मेदवारसँग पराजित भएका थिए ।
प्रहरीले शव नजिकैबाट एक पृष्ठ लामो सुसाइड नोट पत्र फेला पारेको छ । यस घटनाले प्रदेशको राजनीतिक वृत्तमा हलचल मच्चाएको छ ।
टीएमसी नेता बनर्जीले आफ्नो नोटमा आफ्नो मृत्युका लागि कोही पनि जिम्मेवार नभएको उल्लेख गर्दै लेखेका छन्, ‘आज मलाई महसुस भइरहेको छ कि राजनीतिमा प्रवेश गर्नु मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो ।’
पेशाले शिक्षक समेत रहिसकेका उनले उक्त नोटमा आफ्नो निष्कलंक कार्यकालको उल्लेख गर्दै जीवनभर कहिल्यै पनि अनुचित तरिकाले एक पैसा पनि नलिएको र सधैं विद्यार्थीहरूलाई निःशुल्क पढाएको उल्लेख समेत गरेका छन् ।
सरकारी निकाय तारापिठ रामपुरहाट विकास प्राधिकरणभित्र आफूलाई पाखा लगाइएको र आफ्नो छवि धमिल्याउने षड्यन्त्र रचिएको घटनाहरू उल्लेख गर्दै उनले आफू कहिल्यै कुनै भ्रष्टाचारमा संलग्न नभए पनि अपमानित हुनुपरेको लेखेका छन् । उक्त पीडा र निराशा व्यक्त गर्दै उनले आफ्ना परिवारका भावी पुस्तालाई राजनीतिमा कहिल्यै नलाग्न सुझाव पनि दिएका छन् ।
यसैबीच, रामपुरहाट प्रहरीले उक्त सुसाइड नोटको फरेन्सिक जाँच गरिने जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।













प्रतिक्रिया