काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ । ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको एनआरएनएले जनाएको छ ।
ग्वाझाओस्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनमा प्रतिनिधि सभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको छ ।
सम्मेलनमा विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख, एनआरएनएका संस्थापक तथा अग्रज नेतृत्वलगायतको उपस्थिति रहेको छ।
सम्मेलनमा नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्ने, नेपालको आर्थिक विकासमा डायस्पोराको पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने तथा एनआरएनएको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । सम्मेलनअन्तर्गत व्यापार, लगानी तथा लजिस्टिक क्षेत्रका अवसर, एसिया प्यासिफिक क्षेत्रका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण, नेपाली नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार, पर्यटन प्रवर्द्धन, महिला तथा युवा नेतृत्व र एनआरएनएको ब्रान्डिङलगायत विषयमा विभिन्न सत्र सञ्चालन हुनेछ ।
विशेषगरी गैरआवासीय नेपाली नागरिकता तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण, सीमापार मानव बेचबिखन नियन्त्रण तथा नेपालको लगानी र पर्यटन प्रवर्द्धनमा डायस्पोराको भूमिका सम्मेलनका महत्वपूर्ण विषयका रूपमा रहेको छ । महिला तथा युवा सत्रमा महिला उद्यमशीलता, नेतृत्व विकास तथा दोस्रो पुस्ताका नेपालीको पहिचान, सहभागिता र विश्वव्यापी सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ ।
त्यसैगरी, एनआरएनएको संस्थागत पहिचान र ब्रान्डिङलाई थप सुदृढ गर्दै संघलाई नयाँ पुस्तासँग जोड्ने विषयमा पनि विशेष छलफल गरिने आयोजकले जनाएको छ ।
सम्मेलनका विभिन्न प्लेनरी तथा विषयगत सत्रहरू सम्पन्न भएपछि १६ अगस्टमा ‘ग्वाझाओ घोषणापत्र २०२६’ जारी गरिनेछ । घोषणापत्रमार्फत सम्मेलनमा उठेका प्रमुख विषय, नीति तथा प्राथमिकताहरूलाई समेट्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालासमक्ष आवश्यक सुझाव तथा मागहरू प्रस्तुत गरिनेछ ।
सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिहरूका लागि चीनको गुआङ्डोङस्थित प्रसिद्ध गुलोङक्सिया प्राकृतिक क्षेत्रमा आधिकारिक अवलोकन भ्रमणको कार्यक्रम समेत तय गरिएको छ ।
११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ले एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै नेपालको आर्थिक समृद्धि, लगानी, पर्यटन, ज्ञान तथा सीप हस्तान्तरण र सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको एनआरएनएले जनाएको छ ।











प्रतिक्रिया