२९ आश्विन २०८३, बिहिबार

नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार–आइतबार पार्किङ व्यवस्थापनमा विशेष तयारी

चार दिनमै १ लाख ८ हजारभन्दा बढीले गरे अवलोकन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ता आउन थालेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार एक्स्पोको चौथो दिनसम्म आइपुग्दा १ लाख ८ हजारभन्दा बढीले मेला अवलोकन गरिसकेका छन् । बिदाका दिनमा अवलोकनकर्ताको संख्या अझै बढ्ने अनुमान गर्दै विशेषगरी पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको नाइमाले जनाएको छ ।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले सुरुवाती चार दिनमै मेला परिसरमा अपेक्षाभन्दा बढी भीड देखिएकाले शनिबार र आइतबार पार्किङ व्यवस्थापनका लागि थप तयारी गरिएको बताए ।

‘सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थल र नेपाल पुलिस क्लब भवनका दुवै तला खचाखच भए । पार्किङका लागि समेत स्पेस अभाव हुने अवस्था देखियो,’ उनले भने, ‘अवलोकनकर्ताको उल्लेख्य सहभागितालाई ध्यानमा राख्दै शनिबार र आइतबार पार्किङका लागि विशेष व्यवस्था गरेका छौँ ।’

एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार मेला सुरु हुने समयभन्दा अगावैदेखि भृकुटीमण्डपको प्रवेशद्वारमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ ।

‘एक्स्पो स्थल बिहान ११ बजे खुल्छ, तर १० बजेदेखि नै अवलोकनकर्ता आउन थाल्नुहुन्छ,’ उनले भने, ‘यो स्तरको आकर्षणले हामीलाई निकै उत्साहित बनाएको छ ।’

आयोजकका अनुसार एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् ।

यससँगै चार दिनमा अवलोकनकर्ताको संख्या १ लाख ८ हजार नाघेको हो । आयोजकले यसअघि एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो ।

भक्तपुरको पुरानो ठिमीकी नवीना नकर्मीले पनि आफूले विगतका अटो मेलाभन्दा यसपटक उल्लेख्य भीड देखेको बताइन् । ‘म विगतका अटो मेलामा पनि आउने गरेकी छु । तर यति धेरै भीड अहिलेसम्म देखेको थिइनँ,’ उनले भनिन् ।

एक्स्पोमा अहिले ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् । विभिन्न कम्पनीले नयाँ–नयाँ मोडल सार्वजनिक गर्दै ग्राहकको ध्यान तानिरहेका छन् ।

हालसम्म एक्स्पोमा विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् । विशेषगरी नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

दुईपांग्रे सवारीसाधनका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ । विशेषगरी महँगा ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा युवाको आकर्षण बढी देखिएको आयोजकले जनाएको छ । विभिन्न ब्रान्ड र मोडल एउटै स्थानमा उपलब्ध भएकाले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार सवारीसाधन छनोट गर्न सहज भएको छ ।

एक्स्पोमा पुगेका ग्राहकले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टीरग्यारेन्टी र रिसेल भ्यालु लगायतका विषयमा विशेष चासो राखिरहेका छन् । ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले पनि आकर्षक अफर सार्वजनिक गरेका छन् । केही कम्पनीले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जा लगायतका सुविधा उपलब्ध गराएका छन् ।

यसले एक्स्पोलाई नयाँ सवारीसाधनबारे जानकारी लिने मात्र नभई तत्काल बुकिङ तथा खरिद गर्ने अवसरका रूपमा समेत प्रयोग गर्न सकिने अवस्था बनेको छ ।

एक्स्पोअन्तर्गत सञ्चालन भइरहेको ‘नाइमा मोबिलिटी संवाद’ मा शुक्रबार ‘Battery Recycling and Ethanol Blending in Fuel’ विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ ।

लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाले सहजीकरण गरेको संवादमा भेहिकल फिटनेस टेस्ट सेन्टरका सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठ, म्यानेजमेन्ट एन्ड होमोलोगेसन एक्स्पर्ट प्रा. डा. बलराज भनोट, लोहम क्लिनटेकका बिजनेस पार्टनरसिप करण मक्कार, अटोमोबाइल इन्डस्ट्री एन्ड मोबिलिटी सेक्टरका विज्ञ आकाश गोल्छा, अटो पत्रकार संघ (जाम) का निवर्तमान अध्यक्ष सागर गजुरेल तथा रिब्याटका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत करण खुराना प्यानलिस्टका रूपमा सहभागी थिए ।

छलफलमा नेपालमा बढ्दो विद्युतीय सवारीसँगै ईभी ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग तथा रिसाइक्लिङका लागि स्पष्ट कानुनी र संस्थागत प्रणाली आवश्यक रहेकोमा जोड दिइएको थियो ।

त्यस्तै, नेपालमा भविष्यमा इन्धनमा इथानोल मिश्रण गर्ने नीति अघि बढाउँदा प्राविधिक पूर्वाधार, पुराना सवारीसाधनको अनुकूलता तथा इन्धन भण्डारण प्रणालीलाई ध्यान दिनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

यसअघि बिहीबारको ‘नाइमा मोबिलिटी संवाद’मा ‘Mobilizing Mobility through Finance: Insurance’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो । बुधबारको ‘Learning Sessions’ मा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो भने एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing Fuel for Economic Growth’ विषयमा संवाद गरिएको थियो ।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’, लर्निङ सेसन, नीति संवाद तथा उद्योग अन्तर्क्रिया सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनीमा राखिएका छन् ।

सवारी खरिद गर्न चाहने ग्राहकलाई बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि एक्स्पोमै विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।

बिदाका दुई दिनमा थप ठूलो संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएकाले आयोजकले पार्किङ, प्रवेश व्यवस्थापन तथा भीड व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।