काठमाडौं । पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ ।
कम्पनीले आज काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री–ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको हो ।
मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिङ प्रालिमार्फत नेपाल प्रवेश गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरेका थिए । यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुवात भएको हो ।
कम्पनीका अनुसार मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भू–भागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको छ । यसले सुपर अटोलाई नेपाली बजारकै लागि भनेर विशेष रूपमा तयार गरिएको इलेक्ट्रिक सवारीसाधनका रूपमा प्रस्तुत गरेको छ ।
इलेक्ट्रिक मोबिलिटीको यस रूपान्तरणका लागि नेपाल हाल उपयुक्त अवस्थामा छ । देशमा पर्याप्त विद्युत् उत्पादन भइरहेको अवस्थामा इलेक्ट्रिक मोबिलिटीमार्फत स्वदेशमै उत्पादित ऊर्जालाई उपयोग गरी आयातित इन्धनमाथिको निर्भरता घटाउन सकिन्छ । इन्टरनल कम्बसन इन्जिन भएका सवारीसाधनको तुलनामा इलेक्ट्रिक सवारीसाधनलाई सरकारले दिँदै आएको कर तथा भन्सारसम्बन्धी सहुलियतले पेट्रोलबाट चल्ने थ्री–ह्विलरबाट इलेक्ट्रिक गाडीमा रूपान्तरण हुने चालक तथा यात्रुका लागि यसको आर्थिक लाभ अझ बढाएको छ ।
कम्पनीका अनुसार चालक तथा फ्लीट सञ्चालकका लागि इलेक्ट्रिक गाडीमा रूपान्तरणले कुल स्वामित्व लागतमा प्रत्यक्ष लाभ पुर्याउँछ । कम सञ्चालन खर्च, कम मर्मतसम्भार खर्च तथा इन्धनको मूल्यमा हुने उतारचढावको प्रभावबाट मुक्त हुन पाउनु यसका प्रमुख फाइदा हुन् । देशभरका थ्री–ह्विलर सञ्चालकका लागि यी फाइदाले उल्लेखनीय आर्थिक प्रभाव पार्नेछन् ।
नेपालका चालकका लागि यो लाभ केवल आर्थिक पक्षमा सीमित छैन । दैनिक व्यापारिक गतिविधि तथा यात्रु आवागमनको महत्वपूर्ण आधारका रूपमा रहेका थ्री–ह्विलरले चालक र यात्रुबीचको सम्बन्धमा पनि महत्वपूर्ण भूमिका खेल्छन् ।
मोन्ट्रा इलेक्ट्रिक सुपर अटो चालकले प्रदान गर्ने सेवाको गुणस्तरका कारण यात्रुबाट सम्मान र विश्वास प्राप्त हुने विश्वास गरिएको छ । आकर्षक प्रिमियम डिजाइन, आरामदायी र आफ्नो सेगमेन्टमा उत्कृष्ट प्रदर्शनसहितको सुपर अटो हरेक यात्रामा यात्रुलाई राम्रो अनुभव प्रदान गर्न, चालकको दैनिक आम्दानी बढाउन र ग्राहकलाई पुनः सेवा लिन प्रेरित गर्नेगरी विश्वास निर्माण गर्न तयार गरिएको हो । किनकि उत्कृष्ट प्रदर्शनले गर्दा नै सम्मान स्वतः वृद्धि हुन जान्छ ।
नेपालका पहाडी भू–भागले सवारीसाधनबाट थप क्षमताको माग गर्छ र मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो यही आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ । यसको ३२ प्रतिशत ग्रेडेबिलिटीले तीव्र उकालोमा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ भने हिल–होल्ड असिस्ट सुविधाले उकालोमा सुरक्षित र सहज रूपमा सवारी स्टार्ट गर्न सहयोग गर्छ ।
९ किलोवाट ब्याट्री प्याक र पिएमएसएम मोटरबाट सञ्चालित सुपर अटोले आफ्नो सेगमेन्टमै उत्कृष्ट ६० एनएम टर्क प्रदान गर्छ । यसले एकपटकको पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्छ । ४.५ घण्टामा चार्ज गर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग गर्छ । विभिन्न ड्राइभ मोडले फरकफरक लोड र सडक अवस्थाअनुसार सवारी चलाउन सहज बनाउँछन् । यी मोडले शक्तिको सहज वितरण सुनिश्चित गर्दै परम्परागत गियरमा आधारित सवारीसाधनमा अनुभव हुने झट्का कम गर्छन् ।
यात्रु तथा चालक दुवैलाई ध्यानमा राखेर तयार गरिएको एर्गोनोमिक डुअल–टोन सिट, प्रभावकारी विन्डस्क्रिन तथा रूफ डिजाइन र थप हेडरुम तथा लेगरुमका कारण सुपर अटो लामो दूरीका यात्राका लागि समेत आरामदायी छ । साथै, यसलाई विभिन्न मौसममा पनि सहज यात्रा सुनिश्चित गर्ने गरी डिजाइन गरिएको छ । शहरी सडकदेखि नेपालको विविध भू–भागसम्म सहज रूपमा प्रयोग गर्न सकिने सुपर अटोको मूल्य पनि नेपाली बजारलाई ध्यानमा राखेर निर्धारण गरिएको छ ।
नेपालमा सुपर अटोको मूल्य ८ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सुपर अटो सार्वजनिक कार्यक्रममा बोल्दै हिप्को ट्रेडिङ प्रालिका निर्देशक हिमांशु गोल्छाले भने, “नेपालका सडकहरू देशको आर्थिक विकासका मेरुदण्ड हुन् । लामो समयदेखि हामीले हाम्रो आर्थिक विकासको मूल्य ठूलो इन्धन आयात खर्चका रूपमा चुकाउँदै आएका छौँ । सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो । देशभर इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्दै जाँदा यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई नेपाली जनताको आकांक्षासँगै अघि बढ्न सहयोग गर्नेछ ।”
मोन्ट्रा इलेक्ट्रिक क्लिन मोबिलिटी प्रालिका अध्यक्ष अरुण मुरुगप्पनले भने, “मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो नेपाल प्रवेशले इन्जिनियरिङ उत्कृष्टताको प्रयोग वास्तविक र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ भन्ने हाम्रो लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गर्छ। चाहे त्यो किसान होस्, फ्लीट सञ्चालक होस् वा राष्ट्रको आफ्नै ऊर्जा महत्वाकांक्षा नै किन नहोस् । नेपालको नवीकरणीय ऊर्जाको क्षमता र मोन्ट्रा इलेक्ट्रिकको मोबिलिटीसम्बन्धी इनोभेसनले यो साझेदारीलाई स्वाभाविक र आपसी हित अनुकुल बनाएको छ । भारतीय इन्जिनियरिङले हाम्रा छिमेकी अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ भन्ने उदाहरणका रूपमा पनि हामीले यसलाई हेरेका छौँ ।”
मोन्ट्रा इलेक्ट्रिकका प्रबन्ध निर्देशक जलज गुप्ताले भने, “भारतको तीव्र रूपमा बढिरहेको इलेक्ट्रिक कमर्सियल भेहिकल क्षेत्रमा मोन्ट्रा इलेक्ट्रिक अग्रणी कम्पनीका रूपमा स्थापित छ । हाम्रो यात्राको महत्वपूर्ण अध्यायको रूपमा रहेको नेपाल प्रवेशले कम्पनीलाई दिगो मोबिलिटीको विश्वव्यापी क्षेत्रमा अघि बढ्न थप बल प्रदान गर्नेछ । मुरुगप्पा ग्रुपले सधैं वास्तविक चुनौती समाधान गर्ने इन्जिनियरिङलाई प्राथमिकता दिँदै आएको छ । नेपालको अतिरिक्त विद्युत् क्षमतालाई उपयोग गर्दै नेपाल प्रवेश गर्नु पनि यही सोचको निरन्तरता हो । यसले भारतीय इनोभेसनले अन्य देशलाई विश्वव्यापी इन्धन मूल्यको उतारचढावबाट कम प्रभावित हुन सहयोग गर्न सक्छ भन्ने देखाउँछ । साथै, यसले स्वच्छ र आत्मनिर्भर भविष्यतर्फ अघि बढ्न पनि सहयोग पुर्याउनेछ ।”













प्रतिक्रिया