२९ आश्विन २०८३, बिहिबार

एनसेल बिजनेसले सुरु गर्‍यो क्लाउडसुइट, नेपाली मुद्रामै वेब होस्टिङ र डोमेन सेवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनसेलले व्यवसाय तथा संस्थाका लागि डोमेन दर्ता र वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।

नेपालमा डिजिटल व्यवसाय विस्तार भइरहेका बेला स्थानीय पूर्वाधारमार्फत सहज र सुरक्षित वेब सेवा उपलब्ध गराउने उद्देश्यले क्लाउडसुइट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको हो। सेवा व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गरिएको छ।

क्लाउडसुइटमार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन्। यसमा डोमेन नवीकरण, डोमेन स्थानान्तरणमा सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायत सुविधा समावेश छन्।

एनसेलले वेब होस्टिङका लागि दुईवटा प्याकेज सार्वजनिक गरेको छ। मासिक १ हजार रुपैयाँ पर्ने आधारभूत प्याकेजमा ३ जीबी साझा भण्डारण, व्यावसायिक इमेल, एसएसएल प्रमाणपत्र, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध छन्।

त्यस्तै, मासिक २ हजार रुपैयाँ पर्ने प्रो प्याकेजमा थप भण्डारण तथा डेटा स्थानान्तरण क्षमता, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँचवटासम्म सबडोमेन, एसएसएल प्रमाणपत्र, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

एनसेलका अनुसार सेवाको महत्वपूर्ण पक्ष ग्राहकले नेपाली मुद्रामै भुक्तानी गर्न सक्नु हो। यसअघि अन्तर्राष्ट्रिय वेब होस्टिङ सेवा लिन विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने अवस्थालाई यसले सहज बनाउने कम्पनीको दाबी छ।

कम्पनीका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले डोमेन र भरपर्दो वेब होस्टिङ डिजिटल व्यवसायको आधार भएकाले स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालमै डेटा होस्टिङको सुविधा उपलब्ध गराइएको बताए।

क्लाउडसुइटअन्तर्गत वेबसाइट होस्टिङ तथा डेटा नेपालभित्रै रहने एनसेलले जनाएको छ। यसबाट व्यवसायलाई आफ्नो डिजिटल सम्पत्तिमा थप नियन्त्रण कायम गर्न तथा सम्बन्धित नियामकीय आवश्यकताहरू पूरा गर्न सहज हुने कम्पनीको भनाइ छ।

एनसेलले क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवालाई प्राथमिकता दिएको जनाएको छ। कम्पनीका अनुसार डिजिटल क्षेत्रमा प्रवेश गर्न चाहने व्यवसायका लागि यी दुई सेवा आधारभूत आवश्यकता भएकाले सुरुवातमा त्यसैमा केन्द्रित गरिएको हो।