२८ आश्विन २०८३, बुधबार

एउटा स्तब्ध बिदाइ र हाम्रो बेखबर पत्रकारिता

55.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय खड्का

मीरा राजभण्डारी अमात्य दिदी– एउटा यस्तो नाम, जसले पत्रकारिता, समाजसेवा र प्राज्ञिक क्षेत्रमा आफ्नो छुट्टै निष्ठा र पहिचान बनाउनुभयो । उहाँ केवल एक असल र कुशल पत्रकार मात्र हुनुहुन्नथ्यो, विचार र कर्मले भरिपूर्ण प्रेरणाको स्रोत हुनुहुन्थ्यो । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाको नेतृत्व, नेपाल पत्रकार महासंघको लेखा समिति सदस्य र महिला पत्रकारहरूका संस्थामा केन्द्रीय नेतृत्व सम्हाल्दै उहाँ अमेरिकामा विद्यावारिधिसम्मको उच्च यात्रामा अग्रसर हुनुहुन्थ्यो ।

सामाजिक न्याय, नेवार संस्कृति, लैङ्गिक समानता र महिला सशक्तीकरणका सवालमा उहाँको कलम सधैं निर्भीक, गहिरो र गहकिलो बनेर चल्यो । काठमाडौं पोस्ट, गोरखापत्र, नागरिक र अनलाइनखबर जस्ता प्रमुख माध्यमहरूबाट उहाँले समाजलाई निरन्तर घच्घच्याइरहनुभयो । उहाँका राम्रा लेखहरूमध्ये विशेष गरी ‘छुवाछूत र विभेद कहिलेसम्म?’, ‘राष्ट्रियता र राष्ट्रवादका सवालहरूसँग महिला विकासका एजेन्डा’ र ‘महामारीको बहानामा सांस्कृतिक अतिक्रमण’ले मेरो मनलाई गहिरोसँग छोएका छन् ।

अनुसन्धान र विचारको धनी दिदीको यो असामयिक बिदाइले पत्रकारिता र बौद्धिक जगतमा कहिल्यै नपुर्ने शून्यता छाडेको छ ।

 

अनुसन्धान र विचारको धनी दिदीको यो असामयिक बिदाइले पत्रकारिता र बौद्धिक जगतमा कहिल्यै नपुर्ने शून्यता छाडेको छ । उहाँको विचार र योगदान हाम्रा सम्झनामा सधैं अमर रहनेछ ।

लगनशीलता, कर्मशीलताको र सकारात्मक ऊर्जाको पर्याय हुनुहुन्थ्यो मीरा दिदी । उहाँलाई देख्दा मात्रै पनि मनमा नयाँ उत्साह जाग्थ्यो । भेट्दा सधैं हाँसेरै हौसला दिने उहाँका ती आशावादी शब्दहरु अझै मेरो कानमा गुञ्जिरहेका छन् । उहाँको त्यो मुस्कान अब सम्झनामा मात्र सीमित भयो ।

८ महिनापछिको त्यो भावुक आत्मस्वीकृति

आमाको फेसबुक प्रोफाइलबाट एउटा स्तब्ध पार्ने सन्देश प्रवाह गर्दै उनका छोराले संसारसामु क्षमा मागे ।

उनले लेखेका छन्– ‘हामीलाई यो अप्रिय घोषणा गर्न यति धेरै ढिलो भएकोमा हृदयदेखि नै क्षमा चाहन्छौँ…’

उक्त सन्देशअनुसार, मीरा दिदीको निधन अमेरिकाको मिनेसोटा राज्यस्थित प्रसिद्ध रोचेस्टर मेयो क्लिनिकमा भएको थियो । दिदी विगत धेरै वर्षदेखि चौथो चरणको कडा स्तन क्यान्सरसँग अत्यन्तै साहसका साथ लडिरहनु भएको रहेछ ।

गत वर्षको डिसेम्बरमा एउटा अभागी साँझ, उहाँ अचानक कुर्सीबाट पछाडि लड्न पुग्नुभयो र उहाँको टाउकोमा गम्भीर चोट लाग्यो । त्यो रात टाउको असह्य रूपमा दुखेको गुनासो गरेपछि छोराले उहाँलाई हतार–हतार अस्पतालको आपतकालीन कक्षमा पुर्‍याएका थिए । अस्पतालको चिसो कोठामा आमा र छोराबीच सामान्य कुराकानी भइरहेकै थियो । तर, कसैलाई के थाहा– ती सामान्य शब्दहरू नै उनीहरूबीचको अन्तिम संवाद बन्नेछन् ! कुराकानी गर्दागर्दै दिदी अचानक बेहोस हुनुभयो ।

त्यसपछि उहाँ कहिल्यै नब्युँझिने गरी कोमामा जानुभयो । जटिल मस्तिष्क शल्यक्रिया गरियो तर, क्यान्सरले कमजोर बनाइसकेको शरीरले त्यो ठूलो आघात थाम्न सकेन र उहाँले अन्तिम सास फेर्नुभयो । चिकित्सकहरूका अनुसार कुर्सीबाट लड्नु एउटा दुर्घटना थियो, जसले क्यान्सरको जटिलतालाई थप घातक बनाइदियो ।

उहाँको निधनले पत्रकारिता क्षेत्रसँगै सम्पूर्ण नेपाली जगत स्तब्ध भएको छ । छोराले आमासँगको अन्तिम संवादको कुरा गरेका छन् । आफ्नो दुख लुकाएर हाँस्न सिकाउने मीना दिदीले आफ्नो अथाहा पीडाबारे सायद कसैलाई सुनाउनुभएन । सायद मीरा दिदीले मृत्युको खबरपनि ढिला नै भन्नु भनेको हुनसक्छ । यसैले छोराले ८ महिना ढिला गरेर सार्वजनिक गरे ।

खड्किएको कुरा

दिदीको शोकसन्तप्त परिवारप्रति हृदयदेखि नै गहिरो समवेदना व्यक्त गर्दछु । आमालाई गुमाउनुको असीम पीडा झण्डै आठ महिनासम्म छातीभित्रै गुम्साएर बस्नुपर्दाको अवस्था कति कठिन रह्यो होला, कल्पना गर्दा पनि मन स्तब्ध हुन्छ ।

तर मनमा एउटा प्रश्न भने सधैं खड्किरहनेछ– यदि मीरा दिदीको असामयिक निधनको खबर उतिबेलै सार्वजनिक भएको भए, उहाँलाई माया गर्ने हामीजस्ता धेरैले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने र दुःख बाँड्ने अवसर पाउने थिए । दुःखको यस घडीमा मेरो यो प्रश्न दुस्साहसपूर्ण लागे क्षमा चाहन्छु, यो केवल उहाँप्रतिको आत्मीयताबाट जन्मिएको मनको अनियन्त्रित छटपटी मात्र हो ।

नेपाली ‘पत्रकारिता’ भर्सेस् ‘पत्रुकारिता’

हाम्रो नेपाली पत्रकारिताको फेरि ‘अद्भूत’ खोज पत्रकारिता छ । फ्याक्ट–चेकमा विशेषज्ञ उपाधि पाएका तर, व्यवहारिकता र नैतिकतामा पूर्ण शून्य ! यिनका लागि सत्यको वजनभन्दा ‘सनसनी’को तौल सधैं भारी हुन्छ । कति दररेटमा कुन विज्ञापनदाता प्रसन्न हुन्छ– यिनको निष्पक्षता र आलोचनाको तराजु त्यहीँ झुक्छ !

सबैभन्दा हृदयविदारक र कहालीलाग्दो दृश्य त तब देखिन्छ, जब बलात्कारजस्तो जघन्य अपराधको आरोपमा कसैको चरित्रहत्या गरेर पहिलो पृष्ठमा ‘भाइरल’ हेडलाइन छापिन्छ ।

 

सबैभन्दा हृदयविदारक र कहालीलाग्दो दृश्य त तब देखिन्छ, जब बलात्कारजस्तो जघन्य अपराधको आरोपमा कसैको चरित्रहत्या गरेर पहिलो पृष्ठमा ‘भाइरल’ हेडलाइन छापिन्छ । तर, भोलि अदालतबाट उसले सफाइ पाउँदा पत्रिकाको कुनै अँध्यारो कुनाकाप्चामा दुई लाइनको कन्जुस्याइँपूर्ण समाचार ! कठैबरा, हाम्रो पत्रकारिता !

कसैको जिन्दगी, सम्मान र परिवार सडकमा ल्याउन सेकेन्ड नलगाउनेहरू, आफ्ना गल्ती सच्याउन भने मरणान्त लाज मान्छन्— तर नयाँ गल्ती दोहोर्‍याउन सधैं आतुर भेटिन्छन् । भ्युज र टीआरपीका लागि मानवीयता र नैतिकता तपशिलका कुरा हुन्छन् । सायद, यही नै होला हाम्रो माटोको ‘अर्गानिक’ पत्रकारिता !

सबै समवेदना एकातिर थन्क्याएर हाम्रा कथित पत्रकारलाई चासो छ त केवल–

–कसले कसलाई के मेसेज पठायो ? कहिले, कति बजे र कति पटक पठायो ?

–कसले कसलाई चुम्बन गर्‍यो– त्यो चुम्बन पनि ‘परम्परागत’ थियो कि ‘आधुनिक’ संस्करणको ?

–कसको कोसँग ‘चक्कर’ छ, अनि कसको कोसँग ‘घन्चक्कर’ ?

–चक्कर चल्दै गर्दा कसको ब्रेकअप भयो ? अनि कसको प्याचअपको प्रेस विज्ञाप्ति आयो ?

–कसले कति लाखको लुगा लगायो, कुन ब्रान्डको ब्रासलेट पहिरियो, भित्री पहिरनदेखि भान्सामा

पाकेको तरकारीसम्म सबै राष्ट्रिय चासोको विषय ! वाह रे वाह !

–सेलिब्रेटीको डिभोर्सको ताण्डव के थियो र कसको रोदन कति सेकेन्डको थियो ? अनि त्यसपछि के भयो ? हुर्नुहोस् एक्सक्लुसिभ न्युजमा रे !

–कसले कसलाई कहाँ कुन ब्राण्डको रक्सी खुवायो– मानौं देशको अर्थतन्त्र त्यसैको बिलमा टिकेको छ !

कसैको घरको दीप निभ्दा र काजकिरियामा रुवाबासी चल्दा, आँसु पुछ्नुको साटो “अहिले कस्तो महसुस भइरहेछ ?” भनेर माइक तेस्र्याउने हाम्रा आतुरे पत्रकार ! अदालतले प्रमाण हेरेर फैसला सुनाउनुअघि नै, युट्युबको थम्बनेलमै कसैलाई अपराधी र कसैलाई निर्दोष घोषणा गरिदिने हाम्रो पत्रकारिता ! कसैको व्यक्तिगत जीवनको धज्जी उडाउँदै, अरुको बेड रुममा पुगेर अरूको बेइज्जतीबाट आफ्नो ‘भ्युज’ र ‘क्लिक’को पसल चलाउने पत्रुकारिता । अरुको आँशु र घाउ बेचेर जीवीकोपार्जन गर्ने, जनताको पीडालाई कन्टेन्ट बनाउने र गोपनीयतालाई हेडलाइन बनाउने पत्रकार र पत्रकारितालाई धिक्कार छ ।

गुगल म्यापले समेत हात उठाउने गरी– कसको बुढी कोसँग भागी ? कसको बुढाले कसको बुढी भगायो ? अनि कसको पारिवारिक भान्सामा कुन रङको झगडा पाक्यो ? यस्ता ‘घन्चक्कर’ खोज्न अहोरात्र खट्ने हाम्रा ‘क्रान्तिकारी’ नेपाली पत्रकारको ‘अद्भूत’ खोज पत्रकारिता देखेर दया लागेर आउँछ ।

अरूको बेडरुमको प्वालबाट चियाएर भ्युजको व्यापार गर्ने यिनै ‘अहोरात्र खट्ने’ पत्रकारहरूले, आफ्नै एउटा अग्रज महिला पत्रकारको आठ–आठ महिना अघि नै भइसकेको निधन भने थाहा पाउन सकेनन् !

अरूको जीवनको धज्जी उडाउन सेकेन्ड नलगाउने यिनका क्यामेरा, आफ्नै सहकर्मीको मृत्युमा भने पूर्ण नेत्रहीन बनिदिए ।

 

अरूको जीवनको धज्जी उडाउन सेकेन्ड नलगाउने यिनका क्यामेरा, आफ्नै सहकर्मीको मृत्युमा भने पूर्ण नेत्रहीन बनिदिए ।

आफ्नै घरको दीप निभ्दा पत्तो नपाउने, तर छिमेकीको रोदन बेचेर ‘भाइरल’ हुने पत्रकारिता ! सँगै पसिना बगाएको आफ्नै सहकर्मी अस्ताउँदा समेत बेखबर रहनु हाम्रो असंवेदनशीलताको पराकाष्ठा हो भने, अझै कुन मुखले आफूलाई ‘पत्रकार’ भनिरहेका छौँ ? योभन्दा ठूलो विडम्बना, कुरुपता र दुःखी कुरा अरू के नै हुन सक्छ र ?

अब पालो आत्मासमीक्षाको !

नेपाली पत्रकार समाजले अब एकपटक गम्भीर आत्मसमीक्षा गर्ने बेला आएको छ । अरूको पीडा र कमजोरीमाथि प्रश्न उठाउनेले आफ्नै संवेदनशीलतालाई पनि ऐनामा हेर्नुपर्ने समय आएको छ । अरुलाई चियाउने आँखाले अब आफ्नै वृत्तभित्र पनि चिहाउनुपर्छ । पत्रकारिता समाजको विवेक र संवेदनाको ऐना हो । त्यसैले प्रश्न अरूमाथि मात्र होइन– हाम्रो पत्रकारितामाथि पनि उठ्नुपर्छ । आफ्नै पत्रकारिता र सहकार्यको धरातलमाथि निष्पक्ष विचार विमर्श गरिनुपर्छ ।

संसारभरिका कुनाकाप्चाका खबर खोज्दै हिँड्ने हामी, के हाम्रै छेउमा बसेका सहकर्मीहरूको मौन चीत्कार र छटपटीबारे बेखबर त छैनौँ ? आफ्नै सहकर्मीको सुनसान सन्नाटाबारे बेखर त छैनौँ ? हाम्रा सम्बन्ध र सम्पर्कका धागाहरू कहाँ निर चुँडिदै छन् ? हामीबीचको आत्मीयताको दूरी घट्नुको साटो कतै खाडल त बनिरहेको छैन ? के हामी साँच्चै एकअर्काको सुख–दुःखको सहारा र ओझेल परेका आवाज बन्न सकेका छौँ ?

अब सोच्ने मात्र होइन, ब्युँझिने बेला आएको छ । अरूका कथा र व्यथा लेख्नुअघि, एकपटक आफ्नै मनलाई सोध्ने र आफ्नै सहकर्मीको धड्कन सुन्ने बेला आएको छ । हामी पहिला आफ्नै आवाज बन्न सक्नुपर्छ, अनि मात्र अरुको आवाज बन्न सक्छौं– आउनुहोस्, यो कठोर तर यथार्थलाई आजैदेखि मनमा गाँठ पारौं ।

अन्त्यमा,

पत्रकारितामार्फत जीवनभर समाज र देशलाई सुसूचित गराउनुभएकी मीरा दिदीको अकल्पनीय बिदाइले नेपाली पत्रकारिता जगतको आँखा रसाएको छ । एउटा साहसी योद्धा, एउटा ममतामयी आमा, एक प्रखर लेखक, विचारक र नेपाली पत्रकारिताकी एउटा चम्किलो ताराप्रति भावपूर्ण श्रद्धाञ्जली !

अलविदा मीरा दिदी !

यदि शोकपुस्तिकाका पानामा मनको रोदन पोख्न पाएको भए यति मात्र लेख्थेँ होला– ‘फर्किएर आउने कुनै बाटो भए, एकपटक फर्केर आउनुस् दिदी !’