काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अब आधिकारिक रूपमा विवाहित भएका छन् । उनले आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका हुन् । उनीहरूको विवाहबारे विगत केही वर्षदेखि चर्चा हुँदै आएको थियो ।
४१ वर्षीय पोर्तुगाली सुपरस्टारले आफ्नो लामो समयदेखिकी प्रमिका जर्जिनासँग विवाह गरेका हुन् ।
यो जोडीको विवाह मंगलबार पोर्चुगलको कास्काइसमा अत्यन्तै गोप्य तवरले सम्पन्न भएको हो ।
स्पेनिस स्पोर्ट्स डेली मार्का र साउदी अरबको गल्फ न्युजले पनि उक्त विवाहको पुष्टि गरेको छ । यो समारोह निकै गोप्य र पारिवारिक तवरले सम्पन्न भएको तथा यसमा उनीहरुका पाँच सन्तानको उपस्थिति रहेको समाचारमा उल्लेख छ ।
उनीहरू सन् २०१६ मा म्याड्रिडमा पहिलोपटक भेटेका थिए र त्यसयता सँगै छन् ।
यो जोडीले सन् २०१७ को सुरुतिर आफ्नो सम्बन्धको पुष्टि गरेका थिए र जुरिचमा आयोजित फिफा फुटबल अवार्ड्समा पहिलोपटक सार्वजनिक रूपमा सँगै देखा परेका थिए ।
उनीहरूले इन्स्टाग्राममा आफ्ना औंठीहरू देखाउँदै एक तस्वीर पनि सेयर गरेका छन् ।
रोनाल्डो र जर्जिनाको इन्गेजमेन्ट ठ्याक्कै एक वर्षअघि सन् २०२५ को अगस्ट १२ मा भएको थियो । त्यसबेला जर्जिनाले इन्गेजमेन्टको औंठीको तस्वीर इन्स्टाग्राममा सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्– हुन्छ, म तिमीलाई माया गर्छु । यस जुनीमा र आउने हरेक जुनीमा ।
जर्जिना एक स्पेनिस मोडल र सोसल मिडिया इन्फ्लुएसर हुन् ।
रोनाल्डोले हालै २०२६ को फिफा विश्वकपमा पोर्चुगलको टोलीको नेतृत्व गरेका थिए ।
राउन्ड अफ १६ मा स्पेनसँग पराजित भएपछि उनको टोली प्रतियोगिताबाट बाहिरिएको थियो ।
खेलअघि रोनाल्डोले यो आफ्नो अन्तिम फिफा विश्वकप हुने बताएका थिए । उक्त खेलपछि उनी अनुहारमा उदासी र आँखामा आँसु लिएर मैदानबाट बाहिरिँदै गरेको देखिएका थिए ।











प्रतिक्रिया