काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्। भृकुटीमण्डपमा जारी एक्स्पोमा विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्।
नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा मंगलबार विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोलाई सवारीसाधन खरिद–बिक्रीको थलोमा मात्र सीमित नगरी समग्र यातायात तथा गतिशीलता क्षेत्रलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन्।
उनले सरकारबाट पटक–पटक परिवर्तन हुने नीतिले अटोमोबाइल व्यवसायमा अनिश्चितता बढेको भन्दै दीर्घकालीन र स्थिर नीति आवश्यक रहेको बताइन्। निजी क्षेत्र तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र नीतिगत परिवर्तन गर्न उनले सरकारलाई आग्रह गरिन्।
कार्यक्रममा प्रहरी महानिरीक्षकले सवारीसाधन बिक्रीमा मात्र केन्द्रित नभई सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा समेत व्यवसायीले ध्यान दिनुपर्ने बताए। उनले सवारीसाधनको बिक्रीपछिको सेवामा समेत विशेष ध्यान दिन ब्रान्डहरूलाई सुझाव दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई मुख्यतः राजस्व संकलनको माध्यमका रूपमा हेर्ने गरेको भन्दै त्यसको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। उनले अटोमोबाइललाई विलासी वस्तुका रूपमा मात्र नहेरी आवश्यकताको क्षेत्रका रूपमा लिनुपर्ने धारणा राखे।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो मात्रामा राजस्व उपलब्ध गराउने क्षेत्र भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले यातायात तथा गतिशीलता क्षेत्र देशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यसको योगदानलाई थप विस्तार गर्नुपर्ने बताए।
उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा गतिशीलता क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको छ। बैंकिङ, बीमा, पर्यटन, निर्माण र सूचना प्रविधिसहित विभिन्न क्षेत्रसँग अटोमोबाइल क्षेत्रको प्रत्यक्ष सम्बन्ध रहेकाले यसलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
एक्स्पोको पहिलो दिन लगानी तथा प्रत्यक्ष वैदेशिक लगानीमार्फत आर्थिक वृद्धिलाई गति दिने विषयमा छलफलसमेत भएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा नाइमा अध्यक्ष वैद्य सहभागी थिए। उक्त सत्रमा मात्रै ३ सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
एक्स्पोमा सडक दुर्घटनापछि तत्काल गर्नुपर्ने प्राथमिक उपचारसम्बन्धी जानकारीमूलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘सडक दुर्घटनापछि जीवनरक्षा र तत्काल उपचार’ विषयमा प्रस्तुति दिएको थियो।
छ दिनसम्म चल्ने एक्स्पोमा करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। एक्स्पोमा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेका ब्रान्डसहित नयाँ विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्।
सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले समेत विभिन्न छुट, विशेष योजना तथा सहुलियत कर्जाका कार्यक्रम ल्याएका छन्। आयोजकका अनुसार एक्स्पोले नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको विकास र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।






















प्रतिक्रिया