२९ आश्विन २०८३, बिहिबार

नाइमा एक्स्पोमा टाटाका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सले नेपालमा नयाँ विद्युतीय सवारीसाधन ‘पञ्च ईभी’ र ‘टियागो ईभी’ सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यी दुई मोडल सार्वजनिक गरेको हो।

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले भने विशेष योजनाअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमा पञ्च ईभी खरिद गर्न सक्नेछन्। त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

एक्स्पोमा यी दुईमध्ये कुनै पनि विद्युतीय गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विशेष विस्तारित वारेन्टी उपलब्ध गराउने जनाएको छ।

पञ्च ईभीमा ४० किलोवाट घण्टासम्मको ब्याट्री

नयाँ पञ्च ईभी ‘एक्ट।ईभी’ प्लेटफर्ममा आधारित छ। यसमा ३२ र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार नेपाली सडकमा गरिएको परीक्षणका आधारमा यसले एकपटक पूर्ण चार्ज गर्दा करिब ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, तीव्र चार्जिङ सुविधा, आवाजबाट सञ्चालन गर्न सकिने सनरुफ, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा छन्।

कम्पनीले पञ्च ईभीलाई नेपाली बजारमा शक्तिशाली र प्रविधियुक्त विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ। यसमा बीएनसीएपीबाट पाँच तारे सुरक्षा मूल्यांकनसमेत प्राप्त भएको कम्पनीको दाबी छ।

टियागो ईभीमा पनि नयाँ सुरक्षा तथा प्रविधि

नयाँ टियागो ईभीलाई दैनिक आवतजावतका लागि लक्षित गरी बजारमा ल्याइएको हो। ह्याचब्याक श्रेणीको यो विद्युतीय गाडीमा नयाँ डिजाइन तथा विभिन्न आकर्षक रङका विकल्प उपलब्ध छन्।

टियागो ईभीमा ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुविधा समावेश गरिएको छ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली बजारमा पछिल्लो प्रविधिका विद्युतीय सवारीसाधन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताअनुसार नयाँ मोडल सार्वजनिक गरिएको बताए। उनका अनुसार पञ्च ईभी र टियागो ईभीले फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार विद्युतीय सवारीसाधनको बिक्रीसँगै चार्जिङ तथा सर्भिस पूर्वाधार विस्तारमा समेत लगानी भइरहेको छ। हाल सिप्रदीले २१ भन्दा बढी विद्युतीय सवारीसाधन सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा ल्याएको जनाएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएका यी दुई नयाँ मोडलले नेपाली विद्युतीय सवारीसाधन बजारमा थप प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।