नयाँ दिल्ली । भारतीय टोलीका पूर्वकप्तान तथा बीसीसीआईका पूर्वअध्यक्ष सौरभ गांगुलीलाई ज्यान मार्ने धम्की आएको छ ।
हुलाक कुरियरमार्फत पठाइएको धम्कीपूर्ण पत्रमा सौरभ, उनकी पत्नी डोना गांगुली र उनका कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गांगुली परिवारले यस सम्बन्धमा कोलकाताको ठाकुर पुकुर प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ ।
प्रहरीका अनुसार सोमबार क्रिकेट एसोसिएसन अफ बंगालको कार्यालयमा एउटा कुरियर प्याकेट आइपुगेको थियो । त्यसभित्र अंग्रेजीमा लेखिएका दुईवटा पत्रहरू फेला परेका थिए । ती पत्रहरूमा अत्यन्तै आक्रामक र हिंसात्मक भाषा प्रयोग गरिएको थियो ।
गांगुली परिवारले विगत ६ महिनादेखि लगातार यस्ता पत्रहरू पाइरहेको थियो ।
सुरुमा परिवारले ती पत्रहरूलाई कुनै सनकी प्रशंसक वा व्यक्तिगत गुनासो बोकेको व्यक्तिको काम ठानेर बेवास्ता गरेको थियो तर अहिले भने विषयलाई गम्भीरतापूर्वक लिँदै प्रहरीमा उजुरी दर्ता गरिएको हो ।
गांगुली सन् २०१९ मा बीसीसीआईका अध्यक्ष बनेका थिए । उनले सन् २०२२ मा उक्त पदबाट राजीनामा दिनुपरेको थियो । उनको स्थानमा सन् १९८३ को विश्वकप विजेता टोलीका सदस्य रोजर बिन्नीलाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरिएको थियो ।











प्रतिक्रिया