२८ आश्विन २०८३, बुधबार

इरानी राष्ट्रपति पेजेस्कियन र सर्वोच्च नेता मोज्तबाबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियन र सर्वोच्च नेता मोज्तबा खामेनीबीच भेटवार्ता भएको छ ।

खामेनीको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी चलिरहेका बेला उनले पेजेस्कियनसँग भेटवार्ता गरेको इरानी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

इरानी सञ्चारमाध्यमहरुले दुई नेताबीचको भेटवार्ताले अन्तर्राष्ट्रियस्तरमा फैलिरहेका विभिन्न अफवाहलाई समाप्त गरेको उल्लेख गरेको छ । यसअघि इजरायली सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय रिपोर्टहरूमा खामेनीको स्वास्थ्य अवस्था गम्भीर रहेको र अस्पताल भर्ना भएको दाबी गरिएको थियो । ती समाचारहरू आएको केही दिनपछि नै भएको यो उच्चस्तरीय भेटवार्तालाई निकै महत्त्वपूर्ण मानिएको छ ।

इरानको सरकारी प्रसारण संस्था प्रेस टिभीको रिपोर्ट अनुसार, आइतबार भएको बैठकमा देशको वर्तमान सैन्य रणनीति, आर्थिक दबाब र जनताका मुख्य आवश्यकताहरूसँग सम्बन्धित विभिन्न महत्वपूर्ण पक्षहरूमा विस्तृत छलफल भएको छ । यस बैठकको मुख्य उद्देश्य अमेरिका र इजरायलसँग चलिरहेको सैन्य द्वन्द्व, युद्धको भावी दिशा तथा देशको रक्षात्मक तयारीको समीक्षा गर्नु रहेको समाचारमा उल्लेख छ ।

दुई नेताहरुले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने, इरानी मुद्रा र विदेशी मुद्राहरूबीच सन्तुलन कायम गर्ने तथा ऊर्जा स्रोतहरूको उचित व्यवस्थापन सुनिश्चित गर्ने रणनीतिहरू तयार पारेका छन् । पश्चिमी प्रतिबन्ध र जारी द्वन्द्वकाबीच उनीहरूले मित्र राष्ट्र तथा विदेशी साझेदारहरूसँगको आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल गरेका छन् । साथै, सरकारी खर्चमा सन्तुलन कायम गर्दै आम नागरिकका आधारभूत आवश्यकताहरू पूरा गर्ने र अत्यावश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्ने विषयमा पनि उनीहरूको छलफल भएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार उक्त बैठक यस्तो समयमा भएको छ जब इजरायली तथा पश्चिमी सञ्चारमाध्यमहरूमा सर्वोच्च नेता मोज्तबाको स्वास्थ्य अवस्थाबारे विभिन्न खबरहरू फैलिरहेका थिए । बैठकका विवरणहरू सार्वजनिक गर्नुको मुख्य उद्देश्य स्वदेश तथा विदेशमा यो सन्देश प्रवाह गर्नु हो कि सर्वोच्च नेतृत्व पूर्ण रूपमा सक्रिय छ र देशको सैन्य तथा आर्थिक क्षेत्रको कमान्ड उनीहरूकै हातमा छ ।