२८ आश्विन २०८३, बुधबार

संसद् भवन जल्दा खुशी मनाउनेकी छोरी प्राज्ञ सभा सदस्य नियुक्त

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनको क्रममा बानेश्वरस्थित संघीय संसद भवनमा भएको हिंसात्मक प्रदर्शन र आगजनीपछि खुशी मनाउँदै भिडियो बनाएका पूर्वफुटबल खेलाडी, कमेन्टेटर एवं विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीकी छोरी अक्षता अधिकारी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा नियुक्त भएकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँकी अधिकारीलाई साउन २२ गते प्राज्ञ सभा सदस्यमा नियुक्त गरेको हो । नियुक्तिको सूचीमा उनको नाम १८ औं नम्बरमा रहेको छ।

संसद् भवनमा आगजनीपछि अमनप्रतापले खुशी मनाउँदै भिडियो बनाएको विषयलाई लिएर त्यसबेला सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

भिडियोमा अमनप्रतापले पृष्ठभूमिमा जलिरहेको संसद् भवन देखाउँदै उत्तेजक र अश्लील शब्दहरू प्रयोग गरेर खुशीयाली मनाएको देखिएको थियो ।

अहिले उनकै छोरी अक्षता प्राज्ञ सभा सदस्य नियुक्त भएकी हुन् ।

सुशासनको विषय उठाउँदै आएका पर्यटनमन्त्री खड्गराज पौडेलले गरेको नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न र टिप्पणी भइरहेको छ ।

केहीले अक्षताको नियुक्तिलाई ‘नेपोटिजम’ अर्थात् पारिवारिक पहुँचका आधारमा भएको नियुक्तिसँग जोडेर प्रश्न गरेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘संसद् भवन जलाएपछि अमनप्रताप अधिकारीको त्यो उत्सव । बोली सुन्दा अहिलेको सरकारले प्राज्ञमा उनैलाई नियुक्त गर्नुपर्ने । उनकी छोरीलाई नियुक्त गरियो रे । नेपोकिड्स त भन्न मिल्दैन क्यारे ।’

अर्का प्रयोगकर्ताले पनि सरकारको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै आफ्नै छोरीबुहारी, भाइभतिजा, दिदीबहिनी र दाजुभाइलाई नियुक्त गर्नकै लागि किन आगो लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।