२८ आश्विन २०८३, बुधबार

बालेन सरकारको कार्यशैलीको आलोचना गर्दै गगनले भने– शासकीय अराजकता बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को कार्यशैलीप्रति तिखो आलोचना गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा एजेन्डा प्रस्तुत गर्दै सभापति थापाले शासकीय अराजकता बढेको भन्दै यसबारे कांग्रेसले कडा आवाज उठाउने बताए ।

‘अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ । मेरो गाडीमा ब्रेक छैन, एक्स्प्रेस वेमा हिँडेको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ सभापति थापाले भने, ‘स्पिडमा हिँड्ने तपाईंको छनोट हो तर लेन मिच्न पाउनुहुन्न ।’

उनले एकपटक गल्ती भयो भने संयोग हुनसक्ने तर गल्ती दोहोरिइरहन्छ भने माफी दिन नसकिने बताए । ‘लेनभन्दा बाहिर भन्नुको अर्थ विधिभन्दा बाहिर जान पाउँदैन । एकपल्ट भयो भने संयोग होला, गल्ती होला भन्न सकिन्छ तर दोहोरिइरहन्छ भने माफी दिने छुट अब हुँदैन,’ थापाले भने ।

थापाले कार्यपालिकाले सीमा मिचेर न्यायपालिका र संसद्लाई थिचोमिचो गरेको बताए ।

‘कार्यपालिकाले आफ्नो सीमा मान्दैन । न्यायपालिकाको सीमा पनि मेरै ठान्छ,’ थापाले भने, ‘संवैधानिक निकाय पनि आदेश पालक हो भन्छ । संसद् पनि मेरो आदेश पालक हो भन्ने ठान्छ ।’

नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको भन्दै थापाले प्रश्न गरे, ‘यो अराजकताको छुट हुँदैन । अख्तियार प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा थुन्न पाइन्छ ?’

थापाले सरकारका मन्त्रीहरूमा ‘छोटे राजा’कै शैली देखिन थालेको टिप्पणी गरे ।

सरकारमा रहेका मन्त्रीहरूबाट हरेक दिनजस्तो ‘खुट्टा भाँचिदिन्छु, थुन्दिन्छु’ जस्ता भाषाशैली आएको भन्दै उनले यसलाई खबरदारी गरेर ठीक ठाउँमा ल्याउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।

थापाले भने, ‘यो सरकारलाई ठीक ठाउँमा ल्याउने जिम्मेवारी हाम्रो हो । किनकी संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा कांग्रेस छ ।’