२८ आश्विन २०८३, बुधबार

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

रास्वपाले आगामी भदौ पहिलो सातादेखि कार्यक्रम सुरु गर्ने जनाएको हो ।

पार्टीका सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्ति अनुसार कार्यक्रममार्फत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूले महिनामा कम्तिमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् ।

कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिने रास्वपाले जनाएको छ ।

पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरू आम नागरिकका लागि खुला रहनेछन् । उक्त समयमा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा राख्न सक्नेछन् । दोस्रो चरणमा साँझ ६ बजेदेखि मन्त्री, पार्टीको केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ । पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा छलफल गरिने पार्टीले जनाएको छ ।

रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउनु हो ।