२८ आश्विन २०८३, बुधबार

शपथको कसीमा चौधरी र पाण्डे : को गलत, को सही ?

32.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय खड्का

सुदूरपश्चिम प्रदेशको कैलाली, सुखड इलाका प्रहरी कार्यालयका डीएसपी प्रसन्नराज चौधरीको एउटा भिडियो क्लिपले सामाजिक सञ्जालमा बहसको आगो ओकलेको थियो । एउटा विद्यालयको सचेतना कार्यक्रममा उनले पोखेका विचार यतिबेला उनको जागिरे जीवनकै ‘परीक्षा’ बन्न पुगेको छ । घटनालगत्तै उनीमाथि गम्भीर सोधपुछ सुरु भइसकेको छ भने आम मानिस पक्ष र विपक्षको कित्तामा बाँडिएका थिए । त्यसमाथि सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका अधिकृतलाई धम्काएको घटना थपिएपछि कर्तव्य, क्षेत्राधिकार र मर्यादाको विषय झनै पेचिलो बनेको छ । आउनुहोस् पहिला, डीएसपी प्रसन्नराज चौधरीजीको बारेमा चर्चा गरौँ ।

यो लेखमा म न्यायाधीश बनेर उनको सही वा गलतको फैसला सुनाउन गइरहेको छैन । मेरो प्रयास केवल यति हो– उनको त्यो गर्जनलाई नेपाल प्रहरीको ‘मूलभूत शपथ’को कसीमा राखेर हेर्नु । बहसको केन्द्र नभत्कियोस् भन्नका लागि, पहिले उनकै शब्दहरू जस्ताको त्यस्तै सुनौँः

“हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो । केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो । हामी नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो– यो नेपाल पुलिस हो । मनपर्‍यो भने ताली बजाउनुहोला ।” (अनि विद्यार्थीहरूको तालीको वर्षा हुन्छ ।)

अभिव्यक्ति विश्लेषणः

डीएसपीको उक्त अभिव्यक्तिलाई मूलभूत रुपमा प्रहरीको शपथसँग दाँजेर विश्लेषण गर्ने प्रयास गर्ने छौँ । उनले ‘हामी बालेनको पुलिस होइनौँ’ भनेका छैनन्, उनले त ‘हामी बालेनको पुलिस पनि होइनौँ’ भनेका हुन् ।
यो ‘पनि’ शब्दको व्याकरण बुझिएन भने उनको आशय नै कुरुप सुनिन्छ । एकैछिन दृश्य बदलौँ र कल्पना गरौँ– यदि उनले यसो भनेको भए के हुन्थ्यो ?

‘हामी त ओलीका पुलिस हौँ…’ (जब केपी ओली प्रम थिए)
‘हामी प्रचण्डका पुलिस हौँ…’ (जब प्रचण्ड प्रम थिए)

 

‘हामी त ओलीका पुलिस हौँ…’ (जब केपी ओली प्रम थिए)
‘हामी प्रचण्डका पुलिस हौँ…’ (जब प्रचण्ड प्रम थिए)

के कुनै प्रहरी अधिकारीले त्यसरी व्यक्ति विशेषको दास बन्ने घोषणा गर्दा सुहाउँथ्यो ? पक्कै सुहाउँदैनथ्यो । त्यसैले, ‘हामी कुनै व्यक्ति वा शक्तिको गोटी होइनौँ, राज्यका सेवक हौँ’ भन्नु कसरी अपराध हुन सक्छ ?

नेपाल प्रहरीको शपथको ऐना

प्रहरी संगठनमा भर्ना हुँदा प्रत्येक अधिकारीले देश र जनताको नाममा एउटा पवित्र कसम खान्छन् । त्यो कसम यस्तो छः

“नेपाल राज्यमा शान्तिसुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधान प्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता, ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय, पक्षपात, लोभ, माया वा द्वेषभाव नराखी पालन गर्नेछु भनी म (आफ्नो नाम) सत्य, निष्ठा, प्रतिबद्धता सहित प्रतिज्ञा गर्दछु…”

अब यो कसमको ऐनामा डीएसपी चौधरीको अभिव्यक्तिको भाव हेरौँ ।

के उनको अभिव्यक्तिमा—

–संविधान नै सर्वोच्च हो भन्ने सन्देश छैन र ?

–कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ भन्ने गर्जन छैन र ?

–अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुन दिनु हुँदैन भन्ने उद्घोष छैन र ?

–पुलिस कुनै व्यक्ति विशेषको होइन, कानुन, विधि र पद्धतिको संरक्षक हुनुपर्छ भन्ने कुरा गलत हो र ?

–सत्ता आज कसैको, भोलि अर्काको हुन सक्छ; तर पुलिस सधैं जनताको हुनुपर्छ भन्नु गलत हो र ?

–डर र लोभबाट मुक्त भएर, कसैको चम्चागिरी नगरी अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने प्रतिबद्धता गलत हो र ?

–कुनै व्यक्ति, दल वा समूहप्रति होइन, नेपालको संविधानप्रति पूर्ण निष्ठावान रही देश र जनताको सेवा गर्छु भन्नु गलत हो र ?

–सम्माननीय प्रधानमन्त्री बालेन्द्र साह मेयर हुँदा भनिएको वा बोलिएको सुशासन, विधिको शासन र संस्थागत जवाफदेहिताको भिजन यही अभिव्यक्तिमा झल्किएको छैन र ?

–पुलिस कुनै व्यक्ति वा शक्तिको गोटी होइन, राज्यका सेवक हो भन्नु अपराध हो र ?

–त्यो एउटा ‘पनि’ को वजनलाई नजरअन्दाज गर्न मिल्छ र ?

–यस्तो अभिव्यक्तिले गाली होइन, ताली आलोचना होइन, स्याबासी पाउनुपर्ने होइन र ?

विद्यार्थीले किन बजाए त ताली ?

भिडियोमा स्कुले विद्यार्थीहरूले विना कुनै हिचकिचाहट ताली ठोके । किन ? किनभने उनीहरूको दिमाग अहिलेसम्म राजनीतिक पूर्वाग्रहको दलदलमा फसेको छैन । उनीहरूले कुनै दलको चस्मा नलगाई एउटा प्रहरीको कुरालाई ‘न्याय र सत्य’को कसीमा सुने वा सुन्न सके । नयाँ पुस्ता निष्पक्षता चाहन्छ, उनीहरू ‘सिस्टम’ सुध्रिएको हेर्न चाहन्छन् । डीएसपीको कुरामा उनीहरूले आफूले परिकल्पना गरेको पुलिस देखे, त्यसैले ताली बजाए भन्दा अतिशयोक्ति नहोला ।

राजु पाण्डेको लज्जास्पद रवैया !

‘म बालेनको सिपाही हुँ’ भन्दै देशको गौरव, इतिहास र स्वाभिमान बोकेको नेपाली सेनाका एक अधिकृतलाई धम्क्याउने, र उल्टै नेपाली सेना जस्तो गरिमामय संस्थालाई ‘सामान्य’ भन्दै होच्याउने तपाईंको हर्कतको जति भत्र्सना गरे पनि कम हुन्छ । नेपाली सेनाको मनोबल गिराउने यस्तो हर्कत निन्दनीय मात्र होइन, अक्षम्य छ । तर विडम्बना ! देशका केही युवाहरू यस्तै उन्माद र अराजकतामा ताली बजाइरहेका छन्– यो दृश्य देख्दा मन रुन्छ, देशको भविष्य सम्झेर उदेक लाग्छ ।

के तपाईंले सांसद/जनप्रतिनिधि हुँदा खाएको त्यो पवित्र शपथ बिर्सिनुभयो ? कि मर्यादा र कानुनलाई लत्याउनु नै तपाईंको मक्सद हो ? आखिर तपाईं भन्न के खोज्दै हुनुहुन्छ ? बोल्न के खोज्दै हुनुहुन्छ ? अहङ्कारले भरिएको तपाईंको यो रूप, मन र बोलीको रहस्य के हो ?

 

के तपाईंले सांसद/जनप्रतिनिधि हुँदा खाएको त्यो पवित्र शपथ बिर्सिनुभयो ? कि मर्यादा र कानुनलाई लत्याउनु नै तपाईंको मक्सद हो ? आखिर तपाईं भन्न के खोज्दै हुनुहुन्छ ? बोल्न के खोज्दै हुनुहुन्छ ? अहङ्कारले भरिएको तपाईंको यो रूप, मन र बोलीको रहस्य के हो ? आफैँ नगर प्रहरीको नेतृत्व सम्हालिसकेको मान्छेले ‘चेन अफ कमाण्ड’ र ‘संस्थागत मर्यादा’ कसरी भुसुक्कै बिर्सन सक्छ ? मान–मर्यादा, कार्यक्षेत्र, विधि र प्रक्रिया बुझ्न नसक्नु तपाईंको अज्ञानता हो कि शक्ति–उन्मादको डमरु ?

खैर, अब म तपाईंलाई कुनै प्रश्न सोध्ने दुःसाहस गर्दिनँ माननीयज्यू ! किनकि कसैले केही सोधे पनि–

या त तपाईं बुझ्नै चाहनुहुन्न,
या त बुझेर पनि बुझ पचाउनुहुन्छ,
या त ‘सर्वज्ञानी’को ढोग गर्नुहुन्छ,
या त सबै प्रश्नको एउटै रटेको उत्तर ओकल्नुहुन्छ– ‘किनकि म त बालेनको सिपाही हुँ !’

जब हरेक गल्ती, अहङ्कार र अराजकता ढाक्ने एउटै ओढ्ने छ भने, तपाईंलाई सोधेर शब्दहरूको अपमान किन गर्नु ? भइगो माननीयज्यू, म अब केही सोध्दिनँ ! तर यति भन्छु– आफ्नो अहङ्कारको ऐना हेर्नुहोस्, आत्मसमीक्षा गर्नुहोस् र समयमै क्षमा माग्नुहोस् । बाँकी, आगे हजुरकै मर्जी !

प्रसन्नराज चौधरी भर्सेस् राजु पाण्डे

१. प्रसन्नराज चौधरीको निष्ठा विधि, संविधान र कानुनप्रति देखिन्छ; राजु पाण्डेको निष्ठा व्यक्तिपूजाप्रति देखिन्छ ।

२. चौधरीले संस्थागत अनुशासन जोगाउँछन्, पाण्डेले शक्ति प्रदर्शनमा संस्थागत मर्यादा बिर्सिएको र शक्ति उन्मादमा रमाउँछन् ।

३. चौधरीको प्राथमिकता न्याय र विधिको शासन हो, पाण्डेको शैलीमा अहङ्कार र टकराव बढी देखिन्छ ।

४. चौधरीले निष्पक्षताको सन्देश दिन्छन्, पाण्डेको व्यवहारले विभाजन र विवादको रवैया देखाउँछन् ।

५. चौधरी लोकतान्त्रिकरण उन्मुख देखिन्छन्, पाण्डे देवत्वकरण उन्माद देखिन्छन् ।

निष्कर्ष

१. स्पष्टीकरण सोध्नु आफैंमा गलत होइन, यो आफ्नो कुरा राख्ने एउटा माध्यम पनि हो । तर, यदि यो सोधपुछ कुनै राजनीतिक दबाबमा डीएसपीलाई ‘तह लगाउने’ वा कारबाही गर्ने नियतले गरिएको हो भने, त्यो विधिको शासनमाथिको ठाडो प्रहार हुनेछ ।

२. यदि डीएसपी चौधरीको अभिव्यक्ति गलत हो र उनी सजायको भागीदार हुन् भने, नेपाल प्रहरीले खाएको त्यो निष्पक्षताको ‘शपथ’ नै गलत ठहरिन्छ । के प्रहरी संगठन आफ्नै शपथलाई गलत सावित गर्न तयार छ ?

३. नेपाल प्रहरीको शपथको कसीमा ती डीएसपीको गर्जन संविधान, कानुन, जनभावना र विशेषगरी जेन्जीको चाहना अनुरूप सही छ । वर्दीभित्र एउटा सच्चा नेपाली मन धड्किँदा यस्तै आवाज निस्किन्छ भन्दा अतिशयोक्ति नहोला ।

४. या त डिएसपी चौधरी गलत हुन्, या त माननीय राजु पाण्डे । आज राज्यको निष्पक्षता र कानुनको सर्वोच्चतामाथि ठूलो प्रश्न उठेको छ । नेपाल सरकार, अब त बोल ! सत्य के हो स्पष्ट पार र दोषीलाई कारबाही गरेर जनताको विश्वास जोगाऊ । नत्र यो मौनताले लोकतन्त्रकै धज्जी उडाउनेछ ।

जय नेपाल प्रहरी । जय नेपाल ।
जय नेपाली सेना । जय नेपाल ।