काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी (डिफङ्क्ट) भएको दावी गरे । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारू लगायतका आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ । ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उनले प्रस्ट पारे ।
संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताव’ मात्र पारित गराएको टिप्पणी गरे ।
हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए । मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति सङ्केत गर्दै उनले वैदेशिक ऋणको भारले अर्थतन्त्र थप सङ्कटमा परेको बताए ।













प्रतिक्रिया