१ कार्तिक २०८३, आइतबार

बालेन सरकारको ‘कामको सूची’ भन्दै विद्यार्थीहरुले देखाए ‘खाली पेपर’

खाली सिलिन्डर बोकेर प्रदर्शन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । बालेन्द्र साह (बालेन) नेतृत्वको सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै अखिल क्रान्तिकारीले शनिबार भरतपुरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारले गरेको कामको सूची भन्दै ‘खाली पेपर’ देखाएर प्रदर्शन गरेका हुन् । उनीहरुले काम सूची नभएको भन्दै ‘खाली पेपर’ देखाएका हुन् ।

बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला उनीहरुले भरतपुर बजारमा खाली सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

ग्यास अभावका कारण सर्वसाधारणको चुलो बल्न समस्या भइरहेको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराए ।

प्रदर्शनमा विद्यार्थीहरूले ‘भात पकाएर खान दे’, ‘स्टन्टबाजी बन्द गर’, ‘भाइरल हुन बन्द गर’, ‘जनताका आधारभूत आवश्यकताहरू पूरा गर’, ‘बालेन सरकार कालो चस्मा खोल’, ‘नालायक प्रशासन राजीनामा दे’, ‘खाली सिलिन्डर भर्ने गर’ लगायतका नाराबाजी गरेका थिए।

उनीहरुले ग्यास अभावसँगै सरकारी अस्पतालमा बिरामीले लामो लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न पनि माग गरेका छन् । सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीले सहज र प्रभावकारी सेवा पाउन नसकेको उनीहरुको भनाई छ ।

त्यस्तै, सर्वसाधारणले भोग्दै आएको पासपोर्टसम्बन्धी समस्या समाधान गर्दै पासपोर्ट सेवा छिटो, सहज र व्यवस्थित रूपमा उपलब्ध गराउन पनि विद्यार्थीहरूले माग गरेका छन् ।

उनीहरुले सरकार जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकताभन्दा प्रचार र स्टन्टबाजीमा केन्द्रित भएको आरोप लगाए ।

ग्यास, स्वास्थ्य सेवा र पासपोर्टजस्ता अत्यावश्यक सेवामा देखिएका समस्या तत्काल समाधान गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।