काठमाडौं । चलचित्र ‘अगस्त्यः च्याप्टर १’मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरिसकेका निर्देशक सौरभ चौधरीले नयाँ प्रोजेक्ट ‘द राइज अफ साम्राज्य’का लागि नेपाली चलचित्र क्षेत्रका भर्सटाइल अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र यस वर्षकै बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक मानिएको छ ।
गत सोमबार मात्रै निर्माण टिमले सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । उक्त घोषणाको लगत्तै पहिलो कलाकारका रूपमा सौगात मल्लको नाम बाहिर आएको हो ।
अभिनेता सौगात र निर्देशक सौरभले यसअघि ‘अगस्त्यः च्याप्टर १’मा एकसाथ काम गरिसकेका छन् । उक्त चलचित्रमा सौगातको अभिनयको निकै प्रशंसा भएको थियो । दोस्रो सहकार्यको रूपमा ‘द राइज अफ साम्राज्य’मा जोडिन पाउँदा दुवै पक्ष उत्साहित देखिएका छन् ।
निर्देशक सौरभ भन्छन्, “हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौँ । उहाँ जस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो । अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी छ, जसको जानकारी हामी केही दिनमा सार्वजनिक गर्नेछौँ ।”
यस चलचित्रमा सौगात मल्ल एउटा विशिष्ट र चुनौतीपूर्ण भूमिकामा देखिने खुलासा गरिएको छ । निर्देशकका अनुसार सिनेमामा सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रालाई चित्रण गर्नेछन् । एउटै चलचित्रमा यति ठूलो उमेरको अन्तर देखाउनु सौगातका लागि पनि अभिनयको हिसाबले निकै महत्वपूर्ण हुने देखिन्छ ।
चलचित्रको अर्को बलियो पक्ष यसको पटकथा हो । चर्चित उपन्यासकार बुद्धिसागरले यस चलचित्रको कथा र पटकथा लेखेका हुन् । यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा देखिएको आगोको लप्का, घोडामा सवार मानिस र ऐतिहासिक राजर्सी कालखण्डका पात्रहरूले चलचित्र एउटा ‘एपिक एक्सन ड्रामा’ हुने संकेत गरेको छ ।
सौरभले यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म खिच्ने योजना बनाएका छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ ।
चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।













प्रतिक्रिया