२९ आश्विन २०८३, बिहिबार

‘अन्तर्राष्ट्रिय मोडल’मा भक्तपुरबाट सुरु हुँदैछ भाटभटेनीको २४सै घण्टा सेवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशकै ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरूलाई चरणबद्ध रूपमा २४सै घण्टा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

भाटभटेनीले पहिलो चरणमा यही साउन २७ गते बुधबारबाट भक्तपुरस्थित स्टोरबाट यो सेवा सुरु गर्ने तयारी गरेको जनाएको छ ।

भाटभटेनीका सञ्चालक कल्याण गुरुङका अनुसार भक्तपुर शाखालाई पाइलट परियोजनाका रूपमा सञ्चालन गर्दै त्यसको अनुभवका आधारमा अन्य शाखाहरूमा पनि विस्तार गरिनेछ ।

गुरुङले अन्तर्राष्ट्रिय बजारमा २४ घण्टा सञ्चालन हुने सुपरमार्केटको अभ्यासलाई प्रयोग गर्दै नेपालमा पनि सोही मोडल लागू गर्न लागिएको बताए ।

हालसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको भाटभटेनी अब चौबीसै घण्टा खुला रहने भएपछि ग्राहकले जुनसुकै समयमा सेवा लिन सक्नेछन् । साथै, बिहान स्टोर खुलेपछि सामान मिलाउने, स्टक व्यवस्थापन गर्ने तथा मूल्य ट्याग अद्यावधिक गर्ने कामका कारण ग्राहकले भोग्दै आएको असहजता पनि हट्ने भाटभटेनीको विश्वास छ ।

२४सै घण्टा सञ्चालनका लागि कम्पनीले रातिको ड्युटीमा खटिने छुट्टै ‘कोर टिम’ तयार पारेको छ । उक्त टोलीलाई नियमित पारिश्रमिकभन्दा २५ प्रतिशत अतिरिक्त सुविधा उपलब्ध गराइनेछ भने चिया खाजाको व्यवस्था पनि गरिएको बताइएको छ ।

उक्त सेवा भक्तपुरपछि बौद्ध, टंगाल, कोटेश्वर, पाटन लगायत काठमाडौं उपत्यकाका अन्य शाखामा पनि विस्तार गर्ने योजना भाटभटेनीको छ । त्यसपछि पोखरा, बुटवल, नारायणगढ लगायत प्रमुख सहरका स्टोरहरूलाई पनि क्रमशः २४सै घण्टा सञ्चालनमा ल्याइने भाटभटेनीले जनाएको छ ।

गत वर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो । आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् ।