२८ आश्विन २०८३, बुधबार

एप्पलले पहिलोपटक ‘फोल्डेबल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महँगो आइफोन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एप्पलको पहिलो फोल्डेबल ‘आइफोन अल्ट्रा’ सार्वजनिक हुन अब करिब एक महिना मात्र बाँकी छ ।

बजारमा आउनुअघि नै यो डिभाइसले फोल्डेबल फोनको बजारमा आफ्नो वर्चस्व कायम गर्ने अपेक्षा गरिएको छ । यो आइफोनको आगमनसँगै फोल्डेबल फोनको बिक्री वा आपूर्तिमा २० प्रतिशतले वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच, एप्पलले यो फोन अत्यधिक सफल हुने अपेक्षा गरेको छ र यसैका माध्यमबाट सामसुङ तथा गुगलजस्ता बजारका अग्रणी कम्पनीहरूलाई चुनौती दिन पूर्ण तयारी गरेको छ ।

अन्य कम्पनीहरूले वर्षौदेखि फोल्डेबल फोनहरू बजारमा ल्याइरहेका बेला लामो प्रतीक्षापछि एप्पल यस क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।

जानकारीहरूका अनुसार ‘आइफोन अल्ट्रा’मा ७.८ इन्चको मुख्य डिस्प्ले र ५.५ इन्चको कभर डिस्प्ले हुने अपेक्षा गरिएको छ, जसले ट्याब्लेटजस्तै अनुभव प्रदान गर्नेछ । पूर्ण रूपमा खोलिएको अवस्थामा यस उपकरणको मोटाइ ४.५ मिलिमिटर हुने अनुमान गरिएको छ । एप्पलले डिस्प्लेमा कुनै पनि प्रकारको धर्सा वा पट्याइएको दाग नदेखियोस् भन्ने कुरा सुनिश्चित गर्न निकै प्रयास गरिएको छ । यो विशेषता फोन सार्वजनिक भएपछि स्पष्ट हुनेछ ।

विभिन्न समाचारहरूले जनाए अनुसार कम्पनीले पुनः डिजाइन गरिएको ‘लिक्विडमेटल हिन्ज’ र अति पातलो ग्लासको प्रयोगलगायत संरचनागत सुधारहरू गरेको छ ।

फोल्डेबल आइफोनमा एप्पलको ‘ए २० प्रो’ चिपसेट समावेश हुनसक्छ, जुन टिएसएमसीको २ न्यानोमिटर प्रविधि प्रयोग गरी निर्माण गरिएको हो । यही चिपसेट आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्समा पनि प्रयोग गरिनेछ, जसले उत्कृष्ट कार्यक्षमताका साथै ऊर्जा दक्षतासमेत प्रदान गर्नेछ । यसमा १२ जीबी र्‍याम रहने सम्भावना छ र यसमा एआई युक्त सिरी लगायत एप्पल इन्टेलिजेन्सका सम्पूर्ण सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ । यो उपकरण आइओएस २७ मा सञ्चालन हुनेछ । यो फोल्डेबल आईफोनका लागि नै विशेष रूपमा अनुकूलित गरिएको एप्पलको अपरेटिङ सिस्टम हो ।

क्यामेराको कुरा गर्दा फोल्डेबल आईफोन ‘आइफोन १८ प्रो’ मोडलहरूभन्दा पछाडि रहनेछ । १८ प्रो मोडलहरूमा ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ भने ‘आइफोन अल्ट्रा’मा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र ४८ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर हुन सक्छ । यसको अगाडिको भागमा रहेका दुवै डिस्प्लेमा सेल्फी क्यामेराहरू हुने छन् । यस आइफोनमा एप्पलले फेस आईडीको सट्टा टच आइडी राखेको छ ।

यो फोनको पावर बटनमा ‘टच आइडी’ सेन्सर रहने अपेक्षा गरिएको छ । ब्याट्रीको कुरा गर्दा एप्पलले यसमा करिब ५,००० एमएएच क्षमताको ब्याट्री प्याक राख्न सक्छ । अझ राम्रो कार्यक्षमता सुनिश्चित गर्न एप्पलले ‘हाइ डेन्सिटी बेटरी’ प्रविधि प्रयोग गर्न सक्छ ।

एप्पलले फोल्डेबल आइफोनका बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । फलस्वरूप, यसका विशेषता र मूल्यसम्बन्धी आधिकारिक विवरण उपलब्ध छैनन् यद्यपि चुहिएका जानकारी र विभिन्न समाचार अनुसार ‘आइफोन अल्ट्रा’को मूल्य करिब ३ लाख २० हजार नेपाली रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ । यो मूल्यमा उपलब्ध भएमा यो एप्पलको हालसम्मकै सबैभन्दा महँगो आइफोन हुनेछ । यसको सार्वजनिक प्रदर्शन सेप्टेम्बर ९ मा हुनेछ र त्यसको करिब एक हप्तापछि बिक्री सुरु हुने अपेक्षा गरिएको छ ।

एप्पल आफ्नो आगामी आइफोनमार्फत ‘फोल्डेबल’ फोनको बजारमा भव्य प्रवेश गर्ने तयारीमा छ । यो कदमले सामसङको बजार हिस्सामा उल्लेख्य प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

हाल यस बजारमा सामसङको हिस्सा सबैभन्दा ठूलो छ । प्रतिस्पर्धाको सामना गर्न कम्पनीले गत महिना मात्रै नयाँ बनावटसहितको ‘ग्यालेक्सी जेड फोल्ड ८’ सार्वजनिक गरेको थियो ।