२८ आश्विन २०८३, बुधबार

शेख हसिनाको कार्यक्रममा सहभागी भएका बंगलादेश क्रिकेटका पूर्वकप्तानको घरमा पेट्रोल बम प्रहार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेश क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद शकिब अल हसनको पुर्ख्यौली घरमा पेट्रोल बम प्रहार भएको छ ।

उक्त घटना नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लबमा पूर्वप्रधानमन्त्री शेख हसिनाले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनलगत्तै भएको हो ।

पत्रकार सम्मेलनमा शकिब पनि भर्चुअल रूपमा सहभागी भएका थिए ।

घटनाको निन्दा गर्दै अवामी लिगले जनाएअनुसार, अवामी लिगको पत्रकार सम्मेलनमा सहभागी भएका व्यक्तिहरुको घरमा आगजनीका घटनाहरू भएका हुन् । पार्टीले यसलाई अवामी लिगका कार्यकर्ताहरूविरुद्ध चलिरहेको अभियानको एक हिस्साका रूपमा वर्णन गरेको छ ।

बंगलादेश प्रहरीका अनुसार, केही उपद्रवीहरूले मागुरास्थित शकिबको घरमा ढुङ्गा प्रहार गरी झ्यालहरू फुटाएका छन् ।

प्रहरीले घटनामा संलग्नहरूको पहिचान तत्काल खुल्न नसकेको जनाएको छ । आक्रमणपछि घरको वरिपरि प्रहरी परिचालन गरिएको छ ।

आक्रमणकारीहरूले घरमा आगो लगाउने प्रयास समेत गरेका थिए ।

आक्रमणको समयमा घरमा कोही थिएनन् । जसकारण घटनामा कोही पनि घाइते भएको खबर छैन ।

शकिब हाल श्रीलंकामा छन् ।

उक्त पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने आफ्नो दृढ संकल्प व्यक्त गरिन् । उनले आफ्नो फिर्ती सत्ताका लागि नभई बंगलादेशलाई विकास, धर्मनिरपेक्षता र समृद्धिको बाटोमा पुनः अघि बढाउन हुने बताइन् ।

पूर्वप्रधानमन्त्री हसिनाले आफू जेल पर्न वा मारिन सक्ने समेत बताइन् । अब जुनसुकै परिस्थिति आए पनि आफू आफ्ना जनतामाझ फर्कने उनको भनाई थियो ।