१ कार्तिक २०८३, शनिबार

दाङमा ५५ थान अवैध भरुवा बन्दुक बरामद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ। दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरेको खोजतलास अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा लुकाइएका भरुवा बन्दुक फेला पारेको जनाएको हो।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कमिरेचौर, अमिलिया तथा प्रहरी चौकी रामपुर र हाँसिपुरबाट खटिएका टोलीले छुट्टाछुट्टै स्थानमा खोजी गर्दा सबैभन्दा बढी बंगलाचुली गाउँपालिका क्षेत्रका विभिन्न सामुदायिक वनबाट बन्दुक बरामद भएका हुन्।

त्यस्तै, लमही नगरपालिका–९ स्थित विहार सामुदायिक वन, बंगलाचुली गाउँपालिकाका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट समेत भरुवा बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद भएका सबै ५५ थान भरुवा बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। ती बन्दुक कसले र किन जंगलमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लामा अवैध हतियार नियन्त्रण तथा आपराधिक गतिविधि रोक्न यस्ता विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।