काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आज नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दैछिन् ।
बंगलादेश सरकारले भारतसँग उनको सम्बोधन रोक्न माग गर्यो तर भारत सरकारले हसिनाको अनलाइन सम्बोधनसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार एक पत्रकार सम्मेलनमा भने– यो कार्यक्रम एक निजी सञ्चार संस्थाद्वारा आयोजना गरिएको हो । यसमा भारत सरकारको कुनै संलग्नता छैन । यस मञ्चमा व्यक्त गरिएका कुनै पनि विचारलाई सरकारले समर्थन गर्दैन ।
५ अगस्ट २०२४ मा बंगलादेश छोडेयता हसिना सार्वजनिक कार्यक्रममा देखा पर्न लागेको यो पहिलोपटक हो ।
५ अगस्ट २०२४ मा आन्दोलनका कारण हसिनाले बंगलादेश छोड्नुपरेको थियो । प्रदर्शनकारीहरू उनको सरकारी निवाससम्म पुगेका थिए । त्यसपछि उनले राजीनामा दिइन् र सेनाको विमानबाट भारतको शरणमा पुगिन् ।
सत्ताबाट बाहिरिन बाध्य पारिएको (५ अगस्ट २०२४) ठ्याक्कै त्यही दिन अर्थात दुई वर्षपछि हसिना पुनः सार्वजनिक रूपमा देखा पर्न लागेकी हुन् । हसिनाका छोरा सजिब वाजेद जोय र अवामी लिगका अन्य नेताहरू पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् ।
फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया नयाँ दिल्लीस्थित पत्रकारहरूको संस्था हो । यसको स्थापना सन् १९५८ मा भएको थियो ।
हसिना उक्त संस्थाद्वारा आयोजित कार्यक्रममा भिडियो लिङ्कमार्फत सहभागी हुनेछिन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कार्यक्रम साँझ ६ः०० बजेदेखि ७ः३० बजेसम्म सञ्चालन हुनेछ ।













प्रतिक्रिया