२८ आश्विन २०८३, बुधबार

हरेक विषयमा केपी शर्मा ओलीलाई दोष किन ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-युवान्तिका राई

नेकपा (एमाले)भित्र पछिल्लो प्रवृत्ति हेर्दा एउटा अनौठो मनोविज्ञान स्थापित हुँदै गएको देखिन्छ। कुनै पनि घटना होस्, कुनै पनि विवाद होस् वा कुनै पनि निर्णय- तथ्य र पृष्ठभूमिको गहिरो अध्ययन नगरी त्यसको सम्पूर्ण दोष नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थोपर्ने प्रवृत्ति बढ्दो छ। आफ्नै पार्टीभित्रका केही व्यक्ति र कार्यकर्तामाझ यो प्रवृत्ति देखिनु विडम्बना हो ।

सामाजिक सञ्जालमा आएका अपुष्ट सामग्री, आधा-अधुरा सूचना वा नियोजित रूपमा फैलाइएका भ्रामक सामग्रीलाई सत्य मानेर आफ्नै पार्टीको नेतृत्वमाथि प्रहार गर्नु न त राजनीतिक परिपक्वताको संकेत हो, न त जिम्मेवार कार्यकर्ताको व्यवहार।

लोकतान्त्रिक राजनीतिमा नेतृत्वको आलोचना गर्न पाइन्छ, असहमति राख्न पाइन्छ र फरक मत व्यक्त गर्न पनि सकिन्छ। तर आलोचना तथ्य, तर्क र जिम्मेवारीमा आधारित हुनुपर्छ। सामाजिक सञ्जालमा आएका अपुष्ट सामग्री, आधा-अधुरा सूचना वा नियोजित रूपमा फैलाइएका भ्रामक सामग्रीलाई सत्य मानेर आफ्नै पार्टीको नेतृत्वमाथि प्रहार गर्नु न त राजनीतिक परिपक्वताको संकेत हो, न त जिम्मेवार कार्यकर्ताको व्यवहार। पछिल्ला दिनमा प्रदेश सरकार निर्माणका क्रममा भइरहेकाअनेक मिडिया ट्रायल र त्यसैमा कार्यकर्ताहरू तरंगित हुनु यसैको उदाहरण हो ।

आज एमालेका कार्यकर्ताले आफैंलाई एउटा प्रश्न सोध्नुपर्ने बेला आएको छ-आफ्नो गाउँ, वडा, पालिका, जिल्ला वा जिम्मेवारीको क्षेत्रमा पार्टीलाई बलियो बनाउन मैले के योगदान दिएको छु ? कोहीले आत्ममूल्यांकन गरेको छ ? 

 

आज एमालेका कार्यकर्ताले आफैंलाई एउटा प्रश्न सोध्नुपर्ने बेला आएको छ- आगामी महाधिवेशनसम्म आफ्नो गाउँ, वडा, पालिका, जिल्ला वा जिम्मेवारीको क्षेत्रमा पार्टीलाई बलियो बनाउन मैले के योगदान दिएको छु ? कोहीले आत्ममूल्यांकन गरेको छ ? संगठन विस्तार, जनसम्पर्क, विचारको बहस र जनताको विश्वास जित्ने कामभन्दा सामाजिक सञ्जालमा आफ्नै पार्टीविरुद्ध सामग्री सेयर गर्ने प्रवृत्तिले कसलाई फाइदा पुगिरहेको छ भन्ने विषयमा पनि आत्ममूल्यांकन आवश्यक देखिन्छ।

पार्टीभित्र फरक मत हुनु अस्वाभाविक होइन। तर त्यसलाई वैधानिक संरचनाभित्र राखेर बहस गर्नु र समाधान खोज्नु नै संगठनात्मक संस्कार हो। यदि कसैलाई पार्टीको विचार, नीति वा नेतृत्वप्रति विश्वास छैन भने त्यसबारे स्पष्ट रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने बाटो खुला छ। तर एउटै संगठनभित्र बसेर निरन्तर आफ्नै नेतृत्व र संगठनलाई कमजोर बनाउने अभियान चलाउनु अन्ततः आफ्नै राजनीतिक घरको जग कमजोर पार्नुजस्तै हो।

एउटै संगठनभित्र बसेर निरन्तर आफ्नै नेतृत्व र संगठनलाई कमजोर बनाउने अभियान चलाउनु अन्ततः आफ्नै राजनीतिक घरको जग कमजोर पार्नुजस्तै हो। 

 

यसअघि पनि कुनै घटना हुनासाथ तथ्य नबुझी केपी शर्मा ओलीलाई दोष दिने र त्यसैलाई सामाजिक सञ्जालमा स्थापित गर्ने प्रयास अन्य पार्टीका कार्यकर्तामा देखिने गरेको थियो। अहिले त्यही शैली आफ्नै पार्टीभित्रका केही व्यक्तिहरूबाट दोहोरिन थालेको देखिनु चिन्ताको विषय हो। लामो समयदेखि राजनीति गरेको दाबी गर्ने व्यक्तिहरूबाट कम्तीमा तथ्यको अध्ययन, घटनाको विश्लेषण र जिम्मेवार अभिव्यक्तिको अपेक्षा स्वाभाविक हुन्छ।

राजनीतिक दलहरू व्यक्तिको आवेगले होइन, विचार, अनुशासन र संगठनात्मक संस्कृतिले बलियो हुन्छन्। त्यसैले आलोचना गरौं, तर तथ्यका आधारमा। असहमति राखौं, तर जिम्मेवारीका साथ। भ्रामक सूचना फैलाएर आफ्नै पार्टी र नेतृत्वलाई कमजोर बनाउने होइन, विचार र संगठनलाई अझ सुदृढ बनाउने दिशामा अघि बढ्नु नै आजको आवश्यकता हो।

अब हरेक विषयमा अध्यक्ष ओलीलाई दोष लगाउने प्रवृत्ति अब बन्द गर्नु यदि तपाईंहरू साँच्चिकै नेकपा एमालेको विचारधारा र सिद्धान्तमा विश्वास गर्नुहुन्छ भने, आफ्नै पार्टीलाई कमजोर बनाउने काम गर्नु उचित होइन । यदि पार्टीको विचार र नेतृत्वप्रति विश्वास छैन भने स्पष्ट रूपमा आफ्नो धारणा राख्नुहोस्, आवश्यक लागे सदस्यता त्याग्नुहोस् र स्वतन्त्र रूपमा आलोचना गर्नुहोस् । तर एउटै घरमा बसेर आफ्नै घर भत्काउने काम कसैको हितमा हुँदैन।

राई युवा नेत्री हुन् ।