१ कार्तिक २०८३, शनिबार

बालेनको सचिवालयले राजु पाण्डेलाई सचेत गराउँदै भन्यो- जहाँ पनि प्रधानमन्त्रीको नाम लिने होइन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेनासँग भएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले संयमित हुन आग्रह गरेको छ।

सडक विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गाभित्र रहेको सेनाको संरचना हटाउने विषयमा सांसद पाण्डे र सुरक्षामा खटिएका सैनिक अधिकारीबीच भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले राजनीतिक चर्चा पाएको थियो।

स्रोतका अनुसार, त्यसलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोक सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो। भेटपछि प्रधानमन्त्री सचिवालयका एक सदस्यले सांसद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर छलफल गरेका थिए। सो क्रममा प्रधानमन्त्रीको नाम जथाभावी प्रयोग नगर्न, सुरक्षा निकायसँग संवाद गर्दा संयमित र जिम्मेवार व्यवहार अपनाउन तथा सार्वजनिक अभिव्यक्तिमा सावधानी अपनाउन सुझाव दिइएको स्रोतको दाबी छ।

यता, सांसद पाण्डेले प्रधानमन्त्री कार्यालय पुगेको स्वीकार गर्दै त्यो नियमित भेटघाटकै सिलसिलामा भएको बताएका छन्। विवादपछि उनले विज्ञप्ति जारी गर्दै नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन्।

उनले प्रारम्भिक चरणमा सामान्य समन्वयको कमीका कारण विवादको अवस्था सिर्जना भएको दाबी गर्दै त्यसपछि नेपाली सेनासँग पूर्ण सहकार्य र समन्वयमा बागमती करिडोर विस्तारको काम अघि बढाइएको स्पष्ट पारेका छन्।