२८ आश्विन २०८३, बुधबार

अमेरिकी क्रिकेटर अखिलेशमाथि ८ वर्षको प्रतिबन्ध, म्याच फिक्सिङ गरेर प्रमाण नष्ट गरेकोमा दोषी ठहर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले म्याच फिक्सिङको दोषी ठहरिएपछि अमेरिकाका अन्तर्राष्ट्रिय खेलाडी अखिलेश रेड्डीलाई ८ वर्षका लागि निलम्बन गरेको छ ।

फ्रान्चाइजमा आधारित ‘अबूधाबी टी–१० लिग’का क्रममा खेलको भ्रष्टाचार विरोधी संहिताका तीनवटा नियम उल्लंघन गरेको आरोपमा रेड्डीलाई गत नोभेम्बरमा अभियोग लगाइएको थियो र उनलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो ।

२६ वर्षीय रेड्डीलाई आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधिकरणले खेलको नतिजा मिलाउन वा अनुचित प्रभाव पार्न खोजेको, अर्का खेलाडीलाई पनि त्यस्तै गतिविधिमा संलग्न गराउने प्रयास गरेको तथा अनुसन्धानसँग सम्बन्धित मोबाइल उपकरणबाट तथ्याङ्क र सन्देशहरू मेटाएको अभियोगमा दोषी ठहर गरेको छ ।

आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध २१ नोभेम्बर २०२५ देखि लागू भएको जनाएको छ । साथै, रेड्डीले अर्का खेलाडीलाई भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुनका लागि प्रभाव पार्ने गरेको प्रयास भने सफल नभएको पनि उल्लेख गरिएको छ ।

रेड्डीले अन्तिम पटक अप्रिल २०२५ मा अमेरिकाका लागि खेलेका थिए ।