काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रबीकुमारीप्रति आक्रोश पोखेका छन् । उपसभामुख बनेपछि पार्टी पदमा पुगेपछि पार्टीप्रति अनुदार बनेको आरोप लगाउँदै उनले आक्रोश पोखेका हुन् ।
किँरातीले पार्टीले सिफारिस गरेका कर्मचारी पनि उपसभामुखले आर्मी लगाएर निकालेको आरोप लगाएका छन् । हालै पार्टीको एक कार्यक्रममा बोल्दै उनले भने, ‘कहाँको मान्छेलाई जिताएर आँसु पसिना बगाएर श्रमदाताले लिएर आए, नेपाली नागरिकले भोट हाले, पदमा पुगेपछि त पाँच जना पार्टीले सिफारिस गरेको कर्मचारी पनि आर्मी लगाएर निकाल्ने अनि त्यस्तो रुबी चाहिँदैन।’
सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको सिद्धान्त र नीतिअनुसार काम गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘यो श्रम संस्कृति पार्टीको काँधमा चढेर मेयर, सांसद, मन्त्री, मुख्यमन्त्री हुने अनि गएर रुबी हुने ? यो भनेको पार्टीको स्पष्ट अनुशासन पनि हुनुपर्छ। त्यो विचार हुनुपर्छ। त्यो लयमा हामी हिँड्नुपर्छ। १०० थरी बाजा एउटै धुन, १०० थरी गोला एउटै चाल। जो जता हिँडे पनि हुने, जसलाई जे मन लाग्छ त्यही गर्दा हुने ? अब यो पार्टी त्यो चल्दैन, विधि चाहिन्छ।’
पार्टीको शुभेन्छुक बनेपछि पार्टीकै लाइन बोल्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘शुभेच्छुकले आफ्नो हिसाबले मनपरी बोल्न पाइँदैन। पार्टीको लाइन बोल्नुपर्छ। शुभेच्छुक भनेको सदस्य समान हो। शुभेच्छुकले नि बोल्छ। त्यसकारणले त्यो लाइन हामीले बनाउनुपर्छ। त्यसको निम्ति प्रणाली हामीलाई चाहिन्छ । हामी यस्तो प्रणाली बनाऔँ, यस्तो पार्टी बनाऔँ अर्काले पनि हामीलाई डाह गरोस्।’













प्रतिक्रिया