काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल)को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने बुढानीलकण्ठस्थित रोयल स्पोट्र्स पार्क, चुनिखेलमा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० कर्पोरेट टोलीको सहभागिता रहनेछ ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ ।
सिंगल राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४७ खेल खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता र उपविजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट फिल्डर, उत्कृष्ट विकेटकिपर, फेयर प्ले टोली तथा सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाडीलाई पनि विधागत पुरस्कार प्रदान गरिनेछ ।
फाइनलअघि दर्शकको मनोरञ्जनका लागि कलाकार र कर्पोरेट क्षेत्रका कार्यकारीबीच प्रदर्शनी (एक्जिबिसन) खेल पनि आयोजना गरिनेछ ।
भेट्रान्स फोर्टी क्लबले यसअघि कर्पोरेट क्रिकेट लिगका दुई संस्करण सफलतापूर्वक आयोजना गरिसकेको छ ।











प्रतिक्रिया