काठमाडौं । हालै दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अश्लील गालीगलौज गर्नेमध्ये एक किशोरीले सार्वजनिक रूपमा माफी मागेकी छिन् ।
सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले हात जोडेर माफी मागेकी हुन् ।
उनले आफू १५ वर्षकी भएको र यो आफ्नो पहिलो र अन्तिम गल्ती रहेको र आफूलाई बहकाइएको बताइन् ।
उनले आफू साथीहरूसँग प्रदर्शनस्थल गएको र त्यहाँ प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाइरहेको बेला आफू त्यस भीडको प्रभावमा परेको उल्लेख गरिन् ।
‘त्यहाँ रहेका केही समूहहरूले प्रधानमन्त्री मोदीविरुद्ध अपशब्दहरू प्रयोग गरिरहेका थिए । म उनीहरूबाट प्रभावित भएँ र अन्त्यमा मैले पनि केही अनुचित कुराहरू बोलेँ । म जम्मा १५ वर्षकी छु । मैले गरेको काम क्षमायोग्य छैन ।’ उनले भिडियोमा भनेकी छन्, ‘यो मेरो पहिलो र अन्तिम गल्ती हो । भविष्यमा म यस्तो कुरा कहिल्यै भन्ने छैन वा यस्तै कुनै कुरा पोस्ट गर्ने छैन । म सम्पूर्ण राष्ट्रसँग माफी माग्छु । मलाई आफ्नो कामप्रति निकै लज्जाबोध भइरहेको छ र म कसैको आँखामा हेर्नसक्ने अवस्थामा छैन । कृपया मलाई माफ गरिदिनुहोस् ।’
यसअघि प्रधानमन्त्री मोदीले शुक्रबार राति इन्स्टाग्राममा एक भिडियो राख्दै भनेका थिए, ‘म ती बालबालिकाहरूलाई माफ गर्न चाहन्छु जसले म र मेरी आमामाथि निकृष्ट गालीगलौज गरे ।’
मोदीले समाजलाई युवा पुस्तालाई अस्वीकार गर्ने वा उनीहरूबाट टाढिनेभन्दा पनि उनीहरूलाई बुझ्ने प्रयास गर्न आग्रह गरे ।
उनले देशका युवाहरू नै सबैभन्दा ठूलो शक्ति भएको र उनीहरूलाई सकारात्मक दिशामा डोर्याउनु सबैको दायित्व भएको बताएका थिए ।













प्रतिक्रिया