२८ आश्विन २०८३, बुधबार

जापानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो । दक्षिण पश्चिमी प्रिफेक्चर कुमामोतोका अधिकारीहरूका अनुसार मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या ३५ पुगेको छ ।

यद्यपि, ती सबै मृत्युहरू प्रत्यक्ष रूपमा भूकम्पकै कारण भएका हुन् वा होइनन् भन्नेबारे उनीहरूले अझै पुष्टि गर्दैछन् । जीवितहरूको खोजी कार्य जारी छ र मृतकको संख्या अझ बढ्न सक्छ । उक्त भूकम्पको म्याग्निच्युड ७.१ थियो भने जापानी मापन प्रणालीअनुसार यसको तीव्रता ७ (उच्चतम स्तर)मापन गरिएको थियो । त्यसयता सयौं साना भूकम्पहरू गइसकेका छन् ।

करिब १० हजार जनसंख्या भएको हिकावा नगरमा १२० भन्दा बढी घर तथा अन्य भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

कुमामोतोका अधिकारीहरूका अनुसार भत्किएको ‘आयन सपिङ मल’को भग्नावशेषमा फसेका मानिसहरूको खोजी कार्य अझै जारी छ । अधिकारीहरूका अनुसार, हालसम्म मलबाट १० जनालाई बाहिर निकालिएको छ । तीमध्ये चार जनाको मृत्यु भएको छ, एक जनाको अवस्था गम्भीर छ र पाँच जना घाइते भएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी कार्य जारी राखिरहेका छन् ।

यसैबीच, हजारौं मानिसहरू बिजुली वा पानीको सुविधाबिना नै चर्को गर्मीको सामना गरिरहेका छन् ।

भूकम्प पछि हजारौं घरमा विद्युत् र खानेपानीको आपूर्ति अवरुद्ध भएको छ ।

बिहीबार बिहानसम्म करिब २२ हजार ६७० घर तथा प्रतिष्ठानहरूमा विद्युत् सेवा उपलब्ध थिएन भने ८४ हजार भन्दा बढी घरपरिवारमा खानेपानी आपूर्ति अवरुद्ध भएको थियो । चर्को गर्मीका बीच मानिसहरूलाई राहत शिविरमा राखिएको छ र सरकारले त्यहाँ वातानुकूलित यन्त्रहरू तथा एसीको ब्यवस्था गरेको छ ।

यात्सुशिरो सहरस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा चिम्नी भत्किँदा ५ जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएको जापानी समाचार संस्थाहरूले जनाएका छन् ।