काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिरहेका अफवाह, उत्तेजक अभिव्यक्ति र द्वेषपूर्ण प्रचारप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई संयम र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
नेपाल प्रहरीद्वारा जारी गरिएको भिडियो सन्देशमार्फत महानिरीक्षक कार्कीले नेपाल विविधतमा एकता बोकेको गौरवशाली र सुन्दर देश भएको स्मरण गराए । धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताका बाबजुद नेपाली समाज आपसी सम्मान, सहिष्णुता र भाइचाराका साथ युगौँदेखि एकसाथ बस्दै आएको उनले उल्लेख गरे ।
विगत केही समययता विशेष गरी पूर्वी तराईलगायतका कतिपय स्थानहरूमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने र डर–त्रासको वातावरण सिर्जना गर्ने गतिविधिहरू देखिएको भन्दै महानिरीक्षक कार्कीले यस्ता कार्यप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक भाषण वा अभिव्यक्ति दिने तथा कानुनको उल्लङ्घन गर्ने कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पार्दै उनले भने, “यस्ता गतिविधिहरूले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन् । यो संवेदनशील समयमा अफवाह र घृणाको साटो विवेक, संयम र सद्भावको बाटो रोज्नु हामी सबैको साझा कर्तव्य हो ।”
नेपाल प्रहरीका तर्फबाट अपिल गर्दै उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न, राष्ट्रिय एकता र भाइचारालाई मजबुत बनाउनका लागि सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।











प्रतिक्रिया