काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनदेखि उत्पन्न तनाव, राज्य पक्षबाट भएको बल प्रयोग तथा गोली लागेर नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गम्भीर आपत्ति जनाएका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहाका गणेश यादवको गोली लागेर भएको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै घटनामा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । हिंसाको क्रम रोकिनुको सट्टा सिरहासहित विभिन्न स्थानमा समेत गोली चलेर थप नागरिकको ज्यान गएको खबरले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आम नागरिक, राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलाई संयमित हुन आग्रह पनि गरेका छन् । जनतालाई विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्र हुन सक्नेतर्फ सचेत रहन र भ्रामक प्रचारको पछि नलाग्न पनि ओलीले अपिल गरेका हुन् ।
अध्यक्ष ओलीको चार बुँदे अपिल–
१. संयमता र सामाजिक सद्भाव :
नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल हो । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत हुँदै नेकपा (एमाले) र अन्य राजनीतिक पार्टीका नेता-कार्यकर्ता, नागरिक समाज र सञ्चारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नकालागि सक्रिय हुन हार्दिक अनुरोध गर्दछु ।
२. सरकारको गैरजिम्मेवार भूमिका र मौनता :
नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भर्त्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।
३. दलहरूबीच राजनीतिक सहकार्य :
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बेला मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप(प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ ।
४. राष्ट्रिय एकता र शान्तिका लागि आह्वान :
द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ ।
राष्ट्रको अस्तित्व, शान्ति-सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।













प्रतिक्रिया