काठमाडौं । नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’को टिजर रिलिज भएको छ । बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो ।
टिजरमा दिदीभाईको माया दर्शाइएको छ । अटिजम भएकी दिदी र भाईबीचको मायाले दर्शकलाई भावुक बनाउँछ । पार्वती अर्थात नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ ।
आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले दर्शकलाई एक किसिमको कौतुहल्ता जगाउने टिजरमा देख्न सकिन्छ । यो टिजरलाई साहिल खानले काटेका हुन् ।
अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन् ।
नीताका साथमा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ ।
फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन् ।
यस फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका हुन् भने शब्द रचना हर्क साउदको रहेको छ ।
संगीततर्फ दीपक शर्मा,बाबुल गिरी,प्रशान्त सिवाकोटी,लगायतकोसंगीत रहेको छ भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।













प्रतिक्रिया