काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गरे ।
संयोजक दाहालले विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा राजनीतिक दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गरे । वर्तमान समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीवोध आवश्यक रहेको उनको भनाइ छ ।
संयोजक दाहालले राष्ट्रिय महत्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधान पहिल्याउन नसकेको भन्दै प्रश्न समेत उठाए । यद्यपि, समसामयिक विषयमा छलफलका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए । परिस्थितिलाई सहज बनाउन सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा उनले जोड दिए ।
संयोजक दाहालले कुनैपनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने उल्लेख गर्दै संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प भएको बताए ।
नेकपाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइसकेको उनले जानकारी गराए । उनले घटनास्थलमा बाह्य तत्वहरूले वातावरण भड्काउन सक्ने भएकाले उच्च शतर्कता अपनाउन आग्रह गरे ।
संयोजक दाहालले अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गरे । उनले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्दै सम्पूर्ण राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई सामाजिक सद्भाव र शान्तिका लागि एकजुट हुन समेत अपिल गरे ।













प्रतिक्रिया