२८ आश्विन २०८३, बुधबार

होर्मुजमा इरानको जित, अमेरिकाको नभई इरानले भनेको बाटो हुँदै निस्किए जहाज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान । होर्मुज जलसन्धिमा जहाजहरूलाई लक्षित गर्ने इरानको रणनीति सफल हुँदै गएको देखिन्छ ।

समुद्री मामिलासम्बन्धी सूचना प्रदायक संस्था ‘मारिस्क’को तथ्याङ्क अनुसार विगत तीन दिनमा होर्मुज जलसन्धि भएर आवतजावत गर्ने सबै जहाजहरूले तेहरानद्वारा तोकिएका मार्गहरूको प्रयोग गरिरहेका छन् । साथै, उक्त तथ्याङ्कले यो पनि देखाउँछ कि यस अवधिमा अमेरिकाले सिफारिस गरेको ओमानको तट नजिकको मार्ग भएर एउटा पनि जहाज हिँडेको छैन ।

अमेरिकी प्रसारण संस्था सीएनएनका अनुसार एक समुद्री कम्पनीले शनिबारदेखि सोमबारको बीचमा होर्मुज जलसन्धि भएर ७८ वटा जहाजहरू आवतजावत गरेको जनाएको छ । तीमध्ये २० वटा जहाजहरू इरानी झण्डाबाहक थिए ।

समाचारमा उल्लेख गरिए अनुसार उक्त क्षेत्र भएर गुज्रिएका इरानबाहेकका सबै ५८ वटा जहाजले इरानद्वारा तोकिएको मार्गको प्रयोग गरेका थिए । अमेरिकी सेनाले सिफारिस गरेको ओमानको तट नजिकको वैकल्पिक जलमार्ग प्रयोग गरेको एउटा पनि जहाज देखिएन ।

पछिल्लो ‘अटोमेटिक आइडेन्टिफिकेसन’को तथ्याङ्कले पनि के देखाउँछ भने प्रतिबन्धहरूका बाबजुद पनि इरानको नियन्त्रणमा रहेको उत्तरी मार्ग हुँदै गैर इरानी व्यावसायिक जहाजहरूको आवतजावत जारी रहेको छ ।

अर्को समुद्री कम्पनी विन्डवार्डले पनि जनाए अनुसार आइतबार देखी ‘स्ट्रेट अफ हर्मुज’ भएर जम्मा सातवटा जहाजहरू मात्रै गुज्रिएका थिए र ती सबैले इरानको नियन्त्रणमा रहेको उत्तरी मार्गको प्रयोग गरेका थिए।

होर्मुज जलसन्धिलाई लिएर अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको बेला इरानीले यो व्यापारिक नाकमा आफ्नो जादु देखाएको हो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज जलसन्धि भएर आवतजावत गर्ने जहाजहरूले तेहरानको अनुमति लिनै पर्ने चेतावनी बारम्बार दिँदै आएको थियो र छ ।

गत शनिबार ‘इरान डेली’मा प्रकाशित एक अन्तर्वार्तामा इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलसन्धिमा वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएर वासिङ्टनले जानाजान इरान अमेरिका सम्झौताको उल्लंघन गरेको बताएका थिए ।

इरानको सरकारी टेलिभिजन ‘आईआरआईबी’ जनाए अनुसार इरानी सेनाले जलसन्धिको दक्षिणी भाग भएर जान खोजिरहेका जहाजहरूको मार्ग परिवर्तन गराएको थियो ।

यसैबीच, अमेरिकी नाकाबन्दीका बाबजुद इरानी बन्दरगाहहरूमा तेल बोक्ने ट्यांकरहरू आउने क्रम जारी छ ।

‘विन्डवार्ड मेरिटाइम’को तथ्यांकअनुसार आइतबार ‘खर्ग टापु’को लोडिङ टर्मिनलमा २४ वटा ट्यांकरहरू पालो पर्खिरहेका थिए, जुन अघिल्लो दिन यो संख्या २१ मात्रै रहेको थियो । साथै, दुई साता सम्मको बमबारीपछि अमेरिकाले इरानमाथि आक्रमण रोक्ने निर्णयमा पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले बारम्बार वार्ताका लागि आग्रह गरिरहेको र आफू कूटनीतिलाई अर्को एक मौका दिन चाहेको दाबी गरेका छन् । यद्यपि, ट्रम्पले इरानसँगको वार्ता सफल नभएमा अमेरिकाले पुनः आक्रमण सुरु गर्ने धम्की भने दिन छाडेका छैनन् ।