१२ श्रावण २०८३, मंगलबार

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न एमालेको माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावका क्रममा राज्य पक्षबाट भएको बल प्रयोगका कारण एक युवाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार पार्टीका महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै देवानगञ्जका स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको र अन्य नागरिक गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।

‘सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत दुई दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर भएको दुःखद निधन तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यति संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिनु अत्यन्तै भर्त्सनायोग्य विषय हो ।’ प्रेस वक्तव्यमा भनिएको छ, ‘विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको छ ।’

महासचिव पोखरेलले राज्यलाई दमनकारी रवैया तत्काल रोक्दै संयमता अपनाएर समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न पनि आग्रह गरेका छन् ।

एमालेले राष्ट्रिय एकता, धार्मिक, सामाजिक तथा जातीय सद्भाव कायम राख्न देवानगञ्ज र समग्र सुनसरीबासीलाई कुनै पनि अफवाहमा नलाग्न तथा आपसी एकतालाई अक्षुण्ण राख्न आह्वान पनि गरेको छ ।