११ श्रावण २०८३, सोमबार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’को घोषणा गरिएको छ ।

चलचित्रको निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो ।

सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको चलचित्र ‘साम्राज्य’लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

चलचित्रको भव्यता सहित यसको विषयवस्तुबारे केही संकेत गर्दै सौरभले थिम र टाइटल अनाउन्समेन्ट गरेका हुन् ।

यो थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन् । पोस्टरले द्वन्द्वको संकेत गरेको छ । विद्रोहीको सेल्टरमा आगो लगाएको जस्तो देखिन्छ । तर, यकिन छैन ।

पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गरेको छ ।

त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरुले रामलीला नाटक देखाइरहेको धमिलो रूपमा देखिन्छ, जसले यो चलचित्र कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ ।

यो चलचित्र एक्सन ड्रामा जनराभित्र रहने बताइएको छ । पछिल्लो समय एक्सन र मेकिङमा निकै प्रशंसा पाएका सौरभले यसपटक झन् ठूलो क्यानभासमा काम गर्न लागेको बुझिएको छ ।

कार्यकारी निर्माता शंकर पाण्डेले ‘द राइज अफ साम्राज्य’ नेपाली सिनेमा उद्योगकै ठूलो स्केलको ‘एपिक एक्सन ड्रामा’ चलचित्र हुने बताए ।

“यो सिनेमा लाइनअप र मेकिङको हिसाबले नेपाली चलचित्र उद्योगकै अहिलेसम्मको बिग स्केलको सिनेमा हुनेछ,” उनले भने ।

निर्माण पक्षले सिनेमाको निर्देशक, लेखक, निर्माता र डिओपी सार्वजनिक गरे पनि कलाकार भने सार्वजनिक गरेका छैनन् । केही दिनमा कलाकारको लाइनअप सार्वजनिक गर्ने बताइएको छ ।

भदौ पहिलो साताबाट छायांकन सुरुवात गरिने चलचित्रको अधिकांश सुटिङ पूर्वी नेपालमा हुने र ७० दिनको सुटिङ सेड्युल रहने निर्माण टिमले जानकारी गराएको छ ।

चलचित्रको रिलिज डेटबारे सौरभले हतार नगर्ने बताएका छन् ।

उनले भने, “अहिलेलाई हामीले थिम र टाइटल अनाउन्समेन्ट गरेका छौँ, पूर्ण रूपमा छायाकंन सकिएसँगै पोस्टको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने सोच हो । पहिला एउटा लाइन अप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौला नि ।”

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।

यो चलचित्रले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई समेट्छ वा काल्पनिक ‘साम्राज्य’को कथा भन्छ भन्ने कुरा थाहा पाउन भने समय कुर्नुपर्ने भएको छ ।

हाललाई भने यो पोस्टरले ‘द राइज अफ साम्राज्य’लाई वर्षकै बहुप्रतिक्षित चलचित्रको सूचीमा राख्ने निश्चित भएको छ ।