१२ श्रावण २०८३, मंगलबार

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री पनि सुरु गर्ने तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्न काठमाडौं उपत्यकामा ३० वटा नयाँ बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्थानले साउन महिनाभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राख्दै उपभोक्तालाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने योजना अघि बढाएको हो ।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर र नयाँ बानेश्वरलगायतका स्थानमा नयाँ मोडेलका बिक्री केन्द्र स्थापना गरिनेछ । यसले उपभोक्तालाई दूध तथा दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराउने विश्वास गरिएको छ ।

यसैक्रममा डिडिसीले वसन्तपुर डबलीमा आधुनिक स्वरूपको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । पर्यटकको उच्च चहलपहल हुने उक्त क्षेत्रबाट दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी र अन्य उत्पादन बिक्री गरिनेछ ।

संस्थानले काठमाडौं बाहिरका प्रमुख सहरमा पनि बिक्री सञ्जाल विस्तार गर्ने योजना बनाएको छ । साथै, निकट भविष्यमै अनलाइनमार्फत अर्डर र होम डेलिभरी सेवा सुरु गर्ने तयारी भइरहेको जनाएको छ ।

डिजिटल माध्यमबाट बिक्री विस्तार गर्दै उपभोक्तालाई थप सहज सेवा प्रदान गर्ने डिडिसीको लक्ष्य रहेको छ ।