काठमाडौं । सार्वजनिक कार्यक्रममा पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आलोचित हुँदै आएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल फेरि अर्को टिप्पणीका कारण चर्चामा आएका छन् ।
सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले जोखिममा रहेको बस्तीबारे दिएको ‘गाउँ सारे भइहाल्यो नि’ भन्ने अभिव्यक्तिमाथि स्थानीय तथा सरोकारवालाले प्रश्न उठाएका छन् ।
शनिबार बीपी राजमार्ग हुँदै नेपाल–चीन जोड्ने कोदारी राजमार्गको निरीक्षणका क्रममा मन्त्री लम्साल भोटेकोशी गाउँपालिका–५ डाक्लाङ पुगेका थिए । स्थानीयले वर्षेनी आउने पहिरोका कारण माथिल्लो पन्थली बस्ती उच्च जोखिममा रहेको र दीर्घकालीन समाधान आवश्यक रहेको जानकारी गराए ।
स्थानीयको गुनासो सुनेपछि मन्त्री लम्सालले ‘गाउँ सार्नुपर्ने स्थिति छ ?’ भनेर सोधे । स्थानीयले ‘सार्नुपर्छ’ भनेपछि उनले ‘गाउँ सारे भइहाल्यो नि ! गाउँ सारेर बाटो खन्ने नि ?’ प्रतिक्रिया दिएका थिए ।
मन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि जोखिमयुक्त बस्ती स्थानान्तरणजस्तो संवेदनशील विषयलाई अत्यन्तै सहज रूपमा प्रस्तुत गरिएको भन्दै आलोचना भएको छ । विज्ञहरूका अनुसार बस्ती स्थानान्तरण कानुनी, प्राविधिक, आर्थिक र सामाजिक रूपमा जटिल प्रक्रिया हो, जसका लागि विस्तृत अध्ययन, बजेट र प्रभावित समुदायको सहमति आवश्यक पर्छ ।
भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्रीले स्थानीयको पीडा सुनेपछि तत्काल निष्कर्ष निकाल्ने शैली अपनाएको टिप्पणी गरे । उनका अनुसार यस्ता विषयमा तथ्य, अध्ययन र कानुनी प्रक्रियाका आधारमा धारणा व्यक्त गर्नु उपयुक्त हुने थियो ।
निरीक्षणकै क्रममा तातोपानी सुख्खा बन्दरगाहमा लामो समयदेखि रोकिएको युरिया मलका विषयमा मन्त्रीको अभिव्यक्तिले पनि प्रश्न उठाएको छ ।
सञ्चारकर्मीले मल रोकिएको विषय उठाएपछि मन्त्रीले ‘युरिया मल रोकिएको हो र ?’ भन्दै जिज्ञासा राखेका थिए । त्यसपछि ‘कसले ल्याएको हो र मल ?’ भन्ने प्रश्न गरे । कर्मचारीले ‘सरकारले, कृषि मन्त्रालयले’ भनेपछि मन्त्रीले ‘अनि किन यहाँ राखेको त ? किसानलाई बाँडिदिए हुन्छ नि ?’ प्रतिक्रिया दिएका थिए ।
तर युरिया मल आयात प्रक्रियासम्बन्धी कानुनी विवाद अदालतमा पुगेकाले लामो समयदेखि बन्दरगाहमै रोकिएको सरकारी अभिलेखले देखाउँछ । त्यसैले विषयको पृष्ठभूमि नबुझी मन्त्रीले सार्वजनिक टिप्पणी गरेको भन्दै आलोचना भएको छ ।
सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार ऋषिराम पौडेलले पनि पछिल्लो समय मन्त्रीहरू पर्याप्त तथ्य र कानुनी प्रक्रिया नबुझीकन सार्वजनिक अभिव्यक्ति दिने प्रवृत्ति बढेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनले व्यंग्य गर्दै लेखेका छन्, “नेपालमा नेता भएपछि सबै विषयका विज्ञ भइँदोरहेछन् ।”
मन्त्री लम्साल यसअघि पनि ठेकेदारको ‘खुट्टा भाँच्ने’ लगायतका आक्रामक अभिव्यक्तिका कारण विवादमा परेका थिए । पछिल्ला टिप्पणीहरूले सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीले संवेदनशील विषयमा बोल्दा तथ्य, कानुन र प्रशासनिक प्रक्रियाबारे पर्याप्त जानकारीसहित अभिव्यक्ति दिनुपर्ने बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ ।













प्रतिक्रिया