२८ आश्विन २०८३, बुधबार

अचानक दुई दिन अमेरिका र इरानबीच युद्धविराम, के भइरहेको छ मध्यपूर्वमा ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानबीच चर्कँदै गएको द्वन्द्वमा दोस्रो दिन पनि एकअर्काविरूद्ध कुनै हानाहान र आक्रमण भएको छैन ।

प्राप्त विवरणहरूका अनुसार अमेरिका वा इरान कसैले पनि लगातार दोस्रो दिन कुनै आक्रमण नगरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

अमेरिकाद्वारा इरानमाथि दुई सातासम्म हरेक रात गरिएका आक्रमण र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूमाथि गरेका आक्रमणपछि देखिएको यो अचानकको शान्तिपूर्ण अवस्था कूटनीतिक वार्ताको बाटोमा फर्किने आशाकाबीच आएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले आइतबार फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको सम्भावनाका लागि केही ठाउँ दिइरहेको बताएका छन् ।

राष्ट्रपतिले अमेरिका पूर्ण तयारी अवस्थामा रहेको बताएको कुरा उल्लेख गरे पनि वाल्ट्जले वार्ताकारहरू विगत केही हप्तादेखि र विशेष गरी पछिल्ला केही पछिल्ला दिनहरूमा हरेक तहमा सक्रिय रहेको बताएका छन् ।

उता, अमेरिकी प्रसारण संस्था सीबीएसले दुई क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार तेहरानमा ओमानको प्रतिनिधिमण्डलको आगमनका कारण अमेरिकाले बमबारी रोक्ने निर्णय गरेको दावी गरिएको छ ।

यद्यपि, तेहरान र वासिङ्टनबीच शान्तिको सम्भावना अझै पनि कायम रहेको छ, तैपनि दुवै पक्षका बिचमा अविश्वास भने गहिरो नै रहेको जानकारहरूले बताएका छन् ।

गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरे यता इरानी अधिकारीहरूले विगतमा वार्ता चलिरहेकै बेला आफूहरू माथि अमेरिका र इजरायलबाट आक्रमण भएको कुरा बारम्बार औंल्याउँदै आएका छन् ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आइतबार अस्ट्रियाली प्रसारण संस्था ओआरएफलाई बताए अनुसार कतार र पाकिस्तान लगायतका मध्यस्थकर्ताहरूले इरान र अमेरिकाबीच सन्देश आदान प्रदान गरिरहेका छन् । तर, उनले इरानको कूटनीतिक प्रयासहरूलाई विगतमा धोका दिइएको उल्लेख गर्दै अमेरिकालाई बिश्वास गर्न नसकिने जनाएका छन् ।

न्युयोर्क टाइम्सले जनाएअनुसार, मध्यपूर्वमा पेन्टागनसँग रहेको क्षेप्यास्त्र रोक्ने प्रणाली र अन्य हवाई प्रतिरक्षा सामग्रीको घट्दो मौज्दात सकिने चिन्ताका कारण ट्रम्पले आक्रमण बढाउने योजनालाई स्थगित गरेका हुन् ।