१० श्रावण २०८३, आइतबार

एमालेलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : शंकर पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विगतका कमीकमजोरीबाट शिक्षा लिँदै पार्टीलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित एमाले लुम्बिनी प्रदेश कमिटीको आठौं पूर्ण बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विगतका कमजोरी र गल्तीलाई आत्मसात् गर्दै पार्टीलाई पुनः जनतासँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, “हिजो हामी बिग्रेको अनुभूति गरेका छौँ । हिजो हामी जनताको घर–आँगनमा समस्या खोज्दै पुग्थ्यौँ । जनताको दुःख, पीडा र अभावलाई आफ्नै समस्या ठान्थ्यौँ । त्यसैले जनतामा हामीप्रतिको आकर्षण र विश्वास दिनप्रतिदिन बढ्दै गयो । तर जब हामी सत्तामा पुग्यौँ, परिस्थिति बदलियो । जनताको समस्या बुझ्न घरदैलोमा जाने हामी, जनतालाई आफ्ना समस्या बोकेर हामी कहाँ हात जोड्दै आउने वातावरण बनाउन थाल्यौँ । त्यहीँबाट हाम्रो यात्रा जनतामुखीबाट सत्तामुखी बन्न पुग्यो ।”

उनले सत्ता जनताको सेवा गर्ने माध्यम भएको भन्दै जनतामाथि शासन गर्ने सिंहासनका रूपमा बुझ्न नहुने स्पष्ट पारे ।

“सत्ता जनताको सेवा गर्ने माध्यम हो, जनतामाथि शासन गर्ने सिंहासन होइन । यो कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन,” महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले निमुखा गरिब, सुकुम्बासी, शिक्षक–प्राध्यापक, प्रवासी नेपाली तथा युवा–विद्यार्थीका सवालमा पार्टी सरकारमा रहँदा पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे । यी वर्ग र समुदायका जायज मागलाई उपेक्षा गरेको परिणामस्वरूप पार्टीले राजनीतिक नोक्सानी बेहोर्नुपरेको उनको भनाइ थियो ।

उनले समयमै आत्मसमीक्षा गरी ती वर्ग र समुदायका जायज मागलाई सम्बोधन गर्न पार्टी कार्यकर्ता जनतासँगै उभिनुपर्ने बताए ।

“अब ढिलाइ गरियो भने यी क्षेत्रबाट पार्टीले अझ ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । त्यसैले जनताका जायज मागलाई साथमा लिएर हामी हरेक ठाउँमा जनतासँगै हिँड्न ढिलाइ गर्नु हुँदैन,” पोखरेलले भने ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी र सफल बनाउन सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भएर परिचालन हुन निर्देशन दिए ।

बैठकले प्रदेश कमिटीमा रिक्त रहेका २१ सदस्य पदमा नयाँ सदस्य मनोनयन गरेको छ ।

मनोनित हुनेहरूमा कपिलवस्तुबाट टेकराज पौडेल, बाबुराम आचार्य र हिरालाल पौडेल, रुपन्देहीबाट चम्पादेवी खनाल र चीनबहादुर गुरुङ, नवलपरासीबाट गणेश पौडेल र मोहन बी. विक, दाङबाट हिरा पुन, हुमा डिसी र ध्रुवराज भारी श्रेष्ठ, रोल्पाबाट घनश्याम आचार्य, गुल्मीबाट हिरा अर्याल क्षेत्री र अमर सिजापती, बाँकेबाट दुर्गा चौधरी र सतीश निरौला, बर्दियाबाट रामबहादुर चौधरी, प्युठानबाट धर्म गिरी, पाल्पाबाट देवीलाल लामिछाने र रामु क्षेत्री तथा अर्घाखाँचीबाट जीवनारायण बेलबासे र श्रीकृष्ण भुसाल रहेका छन् ।

बैठकले पार्टीलाई जनतासँग पुनः जोड्ने, जनताका समस्या र गुनासालाई प्राथमिकताका साथ सुन्ने तथा संगठनलाई थप सुदृढ र गतिशील बनाउँदै ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।